नेपाली कला-साहित्यमा संस्कृति र पहिचानका विषयमा काम गर्ने दर्जनाैँ कलाकार भाेलि शनिबार भदौ २८ गते, शनिबार राष्ट्रिय नाचघरमा भेला हुँदैछन्।
याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा दिउँसो १२:३० बजे सुरु हुने कार्यक्रममा लिम्बू समुदायका चर्चित कविहरु चन्द्रवीर तुम्बापो, स्वप्निल स्मृति, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, प्रकाश आङ्देम्बे, बिमला तुम्खेवा, हाङयुग अज्ञात, राज माङ्लाक, सुन्दर कुरुपलगायतले कविता सुनाउने छन्। २३ जना लिम्बू कवि सम्मिलित याे भेलालाई कविता तङ्सिङ् २०७६ नाम दिइएकाे छ।
आयोजक संस्था याक्थुङ लेखक संघ, उपत्यका समितिका अध्यक्ष विष्णु नेम्वाङले सेताेपाटीसँग भने, 'तङ्सिङ् लिम्बूहरुको धार्मिक अनुष्ठान हाे। यसलाई कवितासँग जोडेर कविताको अनुष्ठानको स्वरुपमा कार्यक्रम आयोजना गर्न लागिएको हाे।'
लिम्बू समुदायले उत्सवका रुपमा लिएकाे कार्यक्रममा रैथाने संगीतकाे स्वादमा कविता कविता सुनाइनेछ। ब्लिस म्यूजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पार्श्वसंगीत रहने उक्त अनप्लग्ड कवितावाचन कार्यक्रमको संयोजन झूमा लिम्बूले गरेकी छिन्। बीचमा गायक यासेली योङ्हाङको मुन्धुमी गायन प्रस्तुति पनि राखिएको छ।
कार्यक्रममा तुम्याङ अतिथिका रुपमा बैरागी काइँला, बालकृष्ण माबुहाङ, अभि सुवेदी, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो रहने तय भएको छ।
'लिम्बूवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी' कविताहरु प्रस्तुत हुने उक्त कार्यक्रममा कविहरु अप्सरा लावती, उत्तम लिम्बू, देवेन्द्र सुर्केली, प्रदीप मेन्याङ्बो, बच्चु हिमांशु, मधु केरुङ, मुनाराज शेर्मा, रञ्जना लिङ्देन, रोहित आङबो, विष्णु नेम्बाङ, सनि लिम्बू, संगम सुहाङ, साङ्सेन वारक र सीता तुम्खेवाको पनि प्रस्तुति रहनेछ।
ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक सङ्घ, दक्षिण कोरिया समितिको सहप्रायोजन रहेको कविता तङ्सिङ् २०७६ यसै वर्ष याक्थुङ लेखक संघ, उपत्यका समिति गठन भएसंगै आयोजकको यो पहिलो कार्यक्रम हो।