तेलेगु सुपरस्टार राम चरणले आफ्नो पछिल्लो सिनेमा 'विनया विदेया रामा'ले दर्शकको अपेक्षा पूरा गर्न नसकेको बताएका छन्। उनको सो सिनेमा वक्सअफिसमा फ्लप भएको थियो।
सिनेमा समिक्षक तथा दर्शक दुबैबाट आलोचितसमेत भयो। अति लामो एक्सन सिनका कारण सिनेमा ट्रोलको सिकार समेत बन्यो।
बायोपति श्रीनु निर्देशित सिनेमा फ्लप भएपछि रामचरणले दर्शकसँग उनीहरूको आशा पुरा गर्न नसकेकोमा माफी मागेका छन्।
'विनया विधेया रामा बनाउनलाई मेहेनत गरेका सबै प्राविधिकहरूलाई धन्यवाद दिन चाहन्छु। निर्माता डिडी दानयाको सहयोगको लागि कुनै शब्द छैन। म मेरा वितरक तथा प्रदर्शकले हाम्रो सिनेमालाई विश्वास गर्दै गरेको सहयोगका लागि आभारी छु', रामचरणले भने, 'हामीले सक्दो मनोरञ्जन सिनेमा बनाउने प्रयास गरेका हौं। दुर्भाग्यवश: हाम्रो दृष्टिकोण सिनेमाको पर्दामा देखिन सकेन र हामीले तपाईँहरूको आशा पूरा गर्न सकेनौ।'
योसँगै राम चरणले फ्यानहरूका कारण आफूलाई अझ कडारूपमा काम गर्न प्रेरणा मिलेको र यसले उनीहरूको अपेक्षा पूरा गर्न उर्जा दिएको पनि बताए।
'रंगस्थलम' सिनेमाको अत्याधिक सफलताका कारण सिनेमा प्रदर्शकहरूलाई महँगो मूल्यमा बेचिएको थियो। सिनेमाले ९४ करोड भारू मात्र कमाउन सक्यो। यस सिनेमालाई पछिल्लो समय सर्वाधिक ध्वस्त तेलेगु सिनेमाको सूचिमा राखिएको छ।