बलिउड अभिनेत्री कंगना रनावतले 'मणिकर्णिका: द क्वीन अफ झाँसी' मा गरेको अभिनयका कारण निकै चर्चा पाइरहेकी छन्। फिल्ममा उनको अभिनयले जति चर्चा पाएको छ त्यति नै उनको निर्देशनले पनि पाइरहेको छ। यो फिल्म कंगनाद्वारा पहिलोपटक निर्देशित फिल्म हो। यो सँगै बलिउडमा उनको निर्देशन यात्रा पनि सुरू भएको छ।
कंगनाले आफ्नो निर्देशन यात्रा मणिकर्णिकामै टुंग्याउने सूरमा छैनन्। उनले अब अर्को फिल्म निर्देशन गर्ने भएकी छन्। मणिकर्णिका सुरूदेखि नै उनको निर्देशनमा बन्नेवाला थिएन। निर्देशक कृषसँग विवाद भएपछि उनले बीचैमा काम छाडेका थिए। कृषले छाडेपछि कंगनाले निर्देशनको डोरी आफैं थामेकी थिइन्।
यस्तो अवस्थामा निर्देशनमा हात हालेकी कंगनाले अब कसको फिल्म निर्देशन गर्दैछिन् त?
उनी दोस्रोपटक पनि आफ्नै फिल्म निर्देशन गर्ने भएकी हुन्। त्यो पनि उनको अभिनय भएको फिल्म हैन, आफ्नै जीवनकथाको। हो, उनले अब आफ्नै बायोपिक निर्देशन गर्न बताएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कंगना आफ्नो जीवनलाई फिल्मका माध्यमबाट देखाउन चाहन्छिन्। उनको बायोपिकको स्क्रिप्ट 'बाहुबली' का लेखक केवी विजेन्द्र प्रसादले लेख्नेछन्। समाचारका अनुसार यो फिल्मको काम कंगनाका आगामी फिल्म 'पंगा र मेंटल है क्या' पछि सुरू हुनेछ।
कंगनाको बायोपिक भन्नेबित्तिकै धेरै प्रश्नहरू उठ्न थालेका छन्। उनको जीवनका पछिल्ला केही विवादित घटनाक्रम ताजै छन्। अभिनेता ऋतिक रोशनदेखि करण जौहरसम्म उनको बायोपिकका पात्र बन्नेछन्। यी कलाकारबीच भएको विवाद अझै पूर्णरूपमा शान्त भइसकेको छैन।
यसमा कंगनाले भनेकी छन्, 'यो सही हो, मेरो अर्को निर्देशन मेरो आफ्नै बायोपिक हुनेछ। तर फिल्ममा कुनै पनि पात्रको नकारात्मक वा सकारात्मक छवि देखाएर सफाइ दिने वा दोषी देखाउने मेरो नियत छैन। यो फिल्ममा मेरो मनको नजिक भएका यात्राहरू देखाइनेछ। मेरा वरपर मलाई माया गर्ने धेरै मान्छे छन्। यो फिल्मले मेरो जीवनको उतार-चढाव देखाउनेछ।'
कंगना र ऋतिकबीच लाामो समयदेखि द्वन्द्व चलिरहेको छ। कंगनाले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्तो गम्भीर आरोप लगाएकी थिइन्। यसलाई ऋतिकले नकारेपछि उनीहरूको विवाद यति चर्कियो, बलिउडमा कंगना र ऋतिकका अलग-अलग पक्षधर निस्किए। यो मामिला अझै सेलाएको छैन।
कंगनाले पछिल्लो समय बलिउड संसारका थुप्रै कुरा खुलासा गर्दै आएकी छन्। केहीले उनलाई 'आँटिली' भन्दै समर्थन गरिरहेका छन् भने केहीले उनले बेकारमा 'बकबक' गरेको आरोप पनि लगाएका छन्।
कंगना आफैंले निर्देशन गरेको आफ्नै बायोपिकमा के-कति कुरा देखिनेछ, त्यो त फिल्म रिलिजपछि नै थाहा हुनेछ।