बलिउड फिल्म 'अन्धाधुन'ले चीनको बक्स अफिसमा झण्डै पाँच सय करोड रूपैयाँ कमाउन सफल भएको छ।
आयुष्मान खुराना, राधिका अप्टे र तब्बुको मुख्य भूमिका रहेको फिल्मले भारतमै पनि डेढ सय करोड रूपैयाँ हाराहारी कमाएको थियो।
गत वर्ष अक्टोबरमा भारतमा रिलिज भएको यो फिल्म चीनमा भने यही अप्रिल ३ तारिखमा रिलिज भएको हो। करिब १५ दिनमै यसले चिनियाँ बक्स अफिसमा धमाका मच्चाएको छ।
फिल्ममा आयुष्मानले पियानोबादकको भूमिका निर्वाह गरेका छन्। उनी आँखा देख्न सक्ने हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित रहेर फिल्म अगाडि बढेको छ।
भियाकम १८ मोसन पिक्चर्स र म्याचबक्स पिक्चर्सले निर्माण गरेको 'अन्धाधुन' चीनमा भने 'द पियानो प्लेयर' नाममा रिलिज भएको हो। यो फिल्म श्रीराम राघवनले निर्देशन गरेका हुन् जो 'डार्क' फिल्मका निम्ति चर्चित छन्। 'एक हसिना थी, बदलापुर' श्रीरामकै निर्देशनमा बनेका हुन्।
अन्धाधुन कम बजेटको फिल्म भए पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सफल फिल्म हो जसले राम्रा प्रतिक्रिया पाएको थियो।
चीनमा करोडौं कमाइ गरेपछि यसले आमिर खानका दुई फिल्म 'दंगल' र 'सिक्रेट सुपरस्टार' लाई पछ्याएको छ। दंगल चीनमा अहिलेसम्म धेरै कमाउने भारतीय फिल्म हो।
अन्धाधुनले छिमेकी मुलुकमा पाएको सफलताबारे खुसी व्यक्त गर्दै भियाकम १८ पिक्चर्सका सिइओ अजित अन्धारेले भनेका छन्,' हामी एकदमै खुसी छौं। यस्तो नौलो खाले कथालाई दर्शकले धेरै मनपराइदिनुभयो।'
चीनमा भारतीय फिल्महरू दंगलदेखि सलमान खानको 'बजरंगी भाइजान,' इरफान खानको 'हिन्दी मिडियम'ले राम्रो कमाइ गर्न सफल भएका छन्। यसलाई पछ्याउँदै अन्धाधुन पनि धेरै कमाइ गर्ने सूचीमा परेको छ।