बलिउड अभिनेता सैफ अलि खानले सन् २०१० मा आफूलाई दिइएको भारतको चौथो सर्वोच्च नागरिक सम्मान 'पद्म श्री' फिर्ता गर्ने बारेमा सोचेको खुलासा गरेका छन्।
अभिनेता, निर्माता तथा निर्देशक अरबाज खानको अन्तरवार्ता कार्यक्रममा 'पद्मश्री किन्ने, आफ्नो छोराको नाम तैमूर राख्ने र एक रेष्टुरेन्टमा कुटपिट गर्ने यस ठगलाई कसरी 'सेक्रेड गेम्स'मा भूमिका मिल्यो? यो मान्छेले मुश्किलले अभिनय गर्छ' भनेर गरिएको एक ट्वीटमा प्रतिक्रिया दिने क्रममा सैफले यस्तो खुलासा गरेका हुन्।
'म ठग होइन..पद्म श्री किन्न सम्भव छैन। भारत सरकारलाई घुस दिन मेरा लागि सम्भव छैन। यसको लागि तपाईंहरूले वरिष्ठ मानिसहरूलाई सोध्नुपर्छ। म यसलाई स्वीकार गर्न चाहन्नथे', सैफले भने, 'फिल्मी दुनियाँमा कयौं यस्ता वरिष्ठ अभिनेता छन् जो म भन्दा बढि यस सम्मानको हकदार छन् जसलाई यो दिइएको छैन। त्यसैगरी यो सम्मान त्यस्ता व्यक्तिसँग पनि छ जसको हैसियत मेरोभन्दा पनि तल छ।'
सैफले आफ्ना दिंवगत पिताका कारण आफ्नो विचार बदलेको बताए।
'म यसलाई फिर्ता गर्न चाहन्थे। यसलाई लिन चाहन्नथे। बुबाले मलाई तिमीले भारत सरकारलाई हुन्न भन्न सक्दैनौ भनेपछि यसलाई हुन्छ भने र खुशीसाथ राखें', सैफले थपे।
सैफले आफू अझै काम गरिरहेकाले पछि आफ्नो काम हेरेर मानिसहरूले यो मान्छे यो सम्मानको हकदार थियो भन्ने आशा व्यक्त गरे।