मानव सभ्यताको इतिहास एउटा कथा जस्तै छ। फरक-फरक कालखण्डमा फरक-फरक आयामबाट कथाको पुष्टि पनि गरिएको पाइन्छ।
पछिल्लो समय प्रकाशित पुस्तक ‘व्रिफ हिस्ट्री अफ द ह्युमन काइन्डस’ले अफ्रिकाको होमोसेपियन्सदेखि एक्काइसौं शताब्दीको आर्टिफिसियल इन्टेलिजेन्ससम्मको व्याख्या गरेर पछिल्लो समयमा मानव विकासको नयाँ आयाम थपिदिएको छ।
यसरी विभिन्न विद्धान र तिनका विभिन्न सिद्धान्तहरूले राज्यको परिभाषा पनि समय सापेक्ष व्याख्या गरिएको पाइन्छ। जब मानव उद्विकास सिकार युगमा थियो, त्यतिखेर पनि आफ्नै किसिमको राज्य संरचना थियो। एउटा सानो झुण्डमा सिकार गर्न सक्ने बलवानहरू त्यो झुण्डका नाइके हुन्थे। नाइकेको प्रमुख दायित्व सिकार गर्ने र आफ्नो झुण्डका सदस्यहरूलाई खाना उपलब्ध गराउने हुन्थ्यो। यसलाई नै प्ररम्भिक शक्ति संरचनाको आदि बिन्दु मानिन्छ।
त्यही झुण्डको सदस्यलाई यदि असहजता भयो, झुण्डको नाइकेले आधारभूत दायित्व बहन गर्न छोड्यो भने त्यहाँबाट उछिट्टिएर अर्को झुण्डको स्थापना हुन्थ्यो। विकास हुन्थ्यो र त्यो झुण्डलाई आफू अनुकूल र त्यसको वातावरण सहज बनाएर गएर शक्तिको अभ्यास गर्थ्यो। त्यस्तो अभ्यास आधारभूत दायित्वको सीमाभित्र रहेर गर्थ्यो।
अहिलेको सन्दर्भमा त्यो अवस्थालाई ‘ब्रेन ड्रेन’को तराजुमा राख्दा अन्यथा हुँदैन। यो प्रकृया त्यस समयको ब्रेन ड्रेन हो।
यसरी प्रारम्भिक सिकार युगमा शक्ति संरचना टाउकाहरूमा मात्र सीमित थियो, जब समाज कृषि युगमा प्रवेश गर्यो शक्ति संरचनाको स्वरूप केही परिर्वतन भएर आयो। कृषि युगमा शक्तिको मापदण्ड कृषि उत्पादन, उत्पादकत्व दिन सक्ने भूगोल र निश्चित मान्छेहरूको समूह शक्ति संरचनाको आधार तत्व बन्यो। समयक्रमको विकाससँगै कृषि युगमा जोसँग बढी उत्पादन गर्ने सामर्थ्य हुन्थ्यो, त्यही शक्तिको केन्द्रमा आउने अभ्यास पनि हुन थाल्यो।
यसले राज्यको उद्विकास सँगसँगै शोषण अथवा पुँजीको विकास गर्यो । यति हुँदाहुँदै पनि त्यो सन्दर्भको राज्य र शक्तिभित्र, राज्य र शक्ति अभ्यास गर्नेहरूका निश्चित दायित्व र सीमाहरू हुन्थे।
त्यसभित्र पनि त्यो राज्य संरचना अभ्यास गर्नेहरूले आफ्ना दायित्वभित्र बस्न नसकेको खण्डमा केही सदस्य त्यो राज्य संरचना र भूगोलबाट पलायन हुन्थे। यसरी पलायन हुने समूह आफू अनुकूलताको भुगोल खोज्थ्यो र आफू अनुकूलताको शक्ति अभ्यास गर्थ्यो।
समय वित्दै जाँदा राज्य संरचनाको स्वरूप पनि फेरिँदै गयो। विस्तारै विश्वमा जारहरू नेतृत्वमा आउन थाले। शक्तिको केन्द्र जारहरू हुन थाले त्यस सँगगँगै वाणिज्यवादको विकास पनि भयो। १८ औं शताब्दीको औद्योगिक क्रान्तिसँगै शक्ति संरचना, राज्य र सामाजिक संरचना र उत्पादकीय संरचनामा आमूल परिर्वतन आयो।
समय कालखण्डका राज्य शक्ति संरचनाको स्वरूप जस्तो भए पनि, निश्चित दायित्व बहन गर्नैपर्ने र आफ्नो भूगोलभित्र बस्ने समुदायलाई सन्तुष्टि बनाउनै पर्ने आधारभूत दायित्व नेतृत्वको हुन्थ्यो । त्यहाँभित्र पनि तिकडम समस्या, अन्याय, शोषण, अत्याचार, शक्तिको दुरूपयोग आदि इत्यादि जीवितै थियो। त्यो संरचना ठीक वा बेठिक भन्नु अर्कै कुरा हो। तर, शक्ति र राज्य संरचनाको अवस्था प्रष्ट्याउन सन्दर्भ जोडियो।
औद्योगिक क्रान्तिदेखि दोस्रो विश्वयुद्धसम्म यो गोलार्धभित्र केही आधुनिक राज्यको पनि विकास भइसकेको थियो। दोस्रो विश्वयुद्ध पछि, राज्यहरू अझै बढी जनउत्तरदायी र सामाजिक आवश्यकता परिपूर्तिको करिडोरको रूपमा विकास भएको पाइन्छ।
दोस्रो विश्वयुद्धपछि जुन राज्यहरूले राज्य विकासमा सही नीति अख्तियार गरे जसले राज्यको आधारभूत दायित्व पूरा गरे, ती राष्ट्रहरू अहिलेको विकसित राज्य र राष्ट्रका रूपमा उदाउन सफल भए। यति हुँदाहुँदै पनि प्रवासनको प्रकृया चलिनैरहेको थियो र मान्छे, आफूलाई अनुकूल, सहज हुने ठाउँहरूको खोजी आदियुगदेखि आजको हाइटेकयुगसम्म भइनैरहेको छ । प्रया:जसो जब मान्छेहरूलाई आफ्नो राज्य र शक्ति अभ्यास गर्नेहरूले आधारभूत दायित्व बहन नगरेको देख्छन् आफूलाई यो राज्य भन्दा अरु कुनै राज्यमा गएर जीवनयापन गर्न सजिलो हुन्छ भन्ने ठान्छन्। त्यही राज्यमा गएर बस्न रुचाउँछन्।
तर, अहिलेको हाइटेक युगमा पहिलेको युग जस्तो प्रवासन सजिलो भने छैन । किनकि, तथाकथित विकसित भनिने राज्यहरूमा अल्पविकसित राज्यहरूबाट दुई कारण मानिस आकर्षण भएका देखिन्छ।
पहिलो, तीक्ष्ण बुद्धि भएका र जसले ती राज्यले निर्धारण गरेको कानुनी प्रकृया पुर्याउँछ त्यो व्यक्ति मात्रै त्यो देशमा प्रवेशको लागि योग्य ठहरिन्छ। अर्कोतिर, जो बलवान् छ, भौतिक रूपमा बलियो छ, जसले ती राज्यका नागरिकले घृणित गर्ने श्रम गर्नका लागि प्रवासन सुविधा दिइएको छ। अन्य अर्थ नलाउने हो भने, श्रम प्रवासन भनेको हाइटेक युगभित्रको दास युग हो ।
किनकि तथाकथित अल्पविकसित भनिने राज्यहरू, जनउत्तरदायी नहुनु, राज्यले गर्नुपर्ने आधारभूत दायित्व पूरा नहुनु, अथवा राज्य असफलता हुनु र आफ्नो देशको श्रमलाई विकसित देशसँग श्रम सम्झौता गरी राज्यको श्रमलाई अरु राज्यलाई बेच्नु नै हाइटेक युगभित्रको हाइटेक दास भन्ने लेखकको ठम्याइ हो। यसरी दुई किसिमको प्रवासन एक प्राकृतिक र अर्को राज्यद्वारा लादिएको प्रवासन भेटिन्छ।
यसलाई नेपालको सन्दर्भमा हेर्नेहो भने, सुगौली सन्धीले नेपालका ग्रामीण भेगमा रहेका युवाहरू बेलायतलाई बेचेको थियो। त्यसले बाध्यकारी प्रवासनको सुरूवात गर्यो। त्यतिखेरको राज्य शक्तिको मानसिकता अरु दुनियाँमा राज्यविरूद्ध राज्य क्रान्तिहरू भइरहेका थिए। यदि युवा शक्तिहरू नेपालकै भूखण्डमा राख्ने हो भने नेपालमा पनि राज्य क्रान्ति हुन्छ भन्ने ग्रसित मानसिकताबाट त्यो बेलाका शासकहरू पीडित थिए। त्यसैको फलस्वरूप नेपाली युवाहरूलाई ब्रिटिस गार्खामा पठाउन थालियो, सँगसँगै र आजसम्म पनि यो कार्य जारी छ। आजका शासकको मानसिकता पनि त्यही जंगबहादुरकालीन मानसिकताबाट ग्रसित भएको पाइन्छ।
किनभने यो देशको श्रम मन्त्रीले, जापानसँग श्रम सम्झौता गरे भनेर सगरमाथानै उचालेको जस्तो खुसी मनाउँछ तर, उसले आफ्नो देशमा एक लाख युवालाई रोजगार दिने सामर्थ्य र हैसियत राख्दैन। शासक वर्गलाई यो थाहा छ कि देशमा युवा भए भने राजनीतिक विद्रोहको घण्टी जतिबेला पनि बज्न सक्छ।
फलस्वरूप नेपाली युवाहरू आधुनिक राज्यद्वारा बेचिन बाध्य भएका छन्। आफ्नो देशका नागरिकहरूलाई आधारभूत सेवा र सुविधा दिन नसक्नुनै राज्य असफलता हो जुन नेपालको सन्दर्भमा ठ्याक्कै मेल खान्छ। अब प्रश्न आयो यो देशमा किन बस्ने? यो असफल राज्यमा युवाहरू किन बस्ने ?
विश्व विद्यालयहरूमा जाउ प्राध्यापकहरू पढाउँदैनन्, पुस्तक उपलब्ध हुँदैन पढाए पनि ६०/७० को दशकका सिद्धान्त छाती पुलाएर पढाउँछन्। हाइटेक प्रविधिबाट न विश्व विद्यालय चल्छ, न प्राध्यापक चल्छ, न गतिलो पुस्तकालय, न पुस्तक । विश्व विद्यालयले एक मिनेटमा प्रिन्ट गरेर दिन सक्ने प्रमाणपत्र दिन २१ दिन लगाउँछ ।
अस्पताल जाउ, पेट दुख्दा किड्नी गाएभ । अस्पतालका शाचलय डुङडुंती गन्हाएका हुन्छन्। आधारभूत स्वास्थ्य उपचारका लागि चर्को मूल्य तिर्नुपर्ने बाध्यता छँदैछ। डाक्टर स्वास्थ्य व्यापारमा मस्त छन् राज्यले आफ्ना नागरिकलाई नि:शुल्क उपचारको दायित्व लिँदैन र त्यसलाई आफ्नो दायित्व पनि महशुस गर्दैन।
केही गरौं भनेर कम्पनी खोल्न खोज्यो, कम्पनी राजिस्ट्रारको कार्यालयमा दलालहरूले खुलेआम पैसा माग्छन्। अर्कातिर राज्य लगानी सम्मेलन गर्छ र लगानीका लागि गर्नुपर्ने संरचनागत परिवर्तनमा राज्य मौन छ भने यो देशमा किन खोल्ने कम्पनी, किन गर्ने लगानी ?
सार्वजनिक यातायात चढिनसक्नु छ, चोरले कतिबेला मोबाइल र पर्स निकाल्ने हो अत्तोपत्तो छैन । सार्वजनिक यातायात चालकलाई कहाँ रोक्ने के गर्ने र समयको महत्व थाहा छैन । राज्यले सार्वजनिक यातायातमा आधारभूत सुरक्षा दिन सक्दैन।
बागमतीको किनारामा शुद्ध हावा खाएर केही सृजना गर्न बसौं भने डुङडुङ गन्हाउँछ । बिहान अफिस हिँडेको मान्छे बेलुका फर्किदा घुलाम्मे हुन्छ।
दुनियाँमा आर्टिफिसियल इन्टेलिजेन्सी र नेचुरल इन्टेलिजेन्सी, सामाजिक संरचना कस्तो हुन्छ वा अबको हाइटेक रेभोलुसन कस्तो हुन्छ भनेर बहस चलिरहँदा नेपाल भन्ने देशमा ग्रामीण भेगमा इन्टरनेट हुँदैन, फोन गर्न खोज्दा टावर हुँदैन। एकातिर राज्य भने डिजिटल नेपाल भन्दै कुर्लन्छ।
हामी नेपालीहरूको इरिसोर्सहरूमा पहुँच छैन । एउटा इमेल गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता अझै उस्तै छ।
बिहान ट्युसन पढ्न हिँडेका छोरी चेलीहरू बेलुकासम्म बलात्कृत भइसक्छन्, अपराधीबारे भने राज्यलाई वर्ष बित्दा समेत अत्तोपत्तो हुँदैन। दिनदहाडै मानिसहरूमाथि गोली प्रहार हुन्छ। उनीहरूको जिउ धनको सुरक्षा हुँदैन, महिला हिंसा त्यस्तै छ, शक्तिमा हुनेहरू जनताको करबाट हर्न बत्ताएर झण्डा फर्फराएर जनतालाई सास्ती दिएर सडकमै कुद्न ब्यस्त छन्, सरकारी कार्यालयमा केही कामका लागि जाउ कर्मचारीले नागरिकलाई अपराधीको जस्तै व्यवहार गर्छन् जनताको रगत पसिना खाएको कुरा कर्मचारीले कहिल्यै बुझ्नैन् । लाग्छ हिटलरको जस्तो एक्ट्रिम राष्ट्रवाद अंगालेरमा मात्रै यो देशमा किन बस्ने ?
यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । हरेक क्षेत्र तह र तप्कामा यस्तै अवस्था देखिएपछि कसरी पलाउँछ छातीभित्र राष्ट्रवाद ? कसरी गर्न सकिन्छ राज्यलाई माया जब राज्यले नै आफ्ना नागरिकप्रति दायित्व बोध गर्दैन आधारभूत कुराहरू उपलब्ध गराउँदैन।
जब राज्यप्रति नागरिकको वृतिष्णा पैदा हुन्छ, राज्यले आधारभूत दायित्व बहन गर्दैन राज्य हो कि हैन भन्ने नागरिकलाई द्वविधा हुन्छ, त्यो राज्य छोडेर आफू अनुकूलताको ठाउँ आफ्नो आवश्यकताको सहज परिपूर्ति आफ्नो आधारभूत सुरक्षा खोज्नु मानवीय स्वभाविक गुण हो। यही स्वभाविक गुणका आधारमा नेपालको ब्रेन ड्रेन भइरहेको थियो । भइरहेको छ । भइरहने छ ।
यदि राज्य यही प्रकृति र स्वभावमा चलिरहने हो भने, राज्य अहिलेनै असफलताको अवस्थामा त छँदैछ, यो भन्दा दयनीय राज्य असफलता देख्नुपर्ने अवस्था आयो भने स्वभाविक र स्वतही मानवीय गुणका आधारमा यो देशका युवाहरू तथाकथित राष्ट्रवाद अंगालेर बस्नुपर्ने अवस्था देखिँदैन ।