जुनारको राजधानी हो सिन्धुली।
हिउँदमा यहाँका ग्रामीण कान्ला र बारीमा लटरम्म पहेँलपुर जुनार फलेको हेर्न कम्ता मज्जा आउँदैन।
हेरेरै मनपेट अगाउँछ, खानै पर्दैन। अब सिन्धुलीको बोटमै पाकेको जुनार हेर्न हिउँद मौसम कुरिरहनु पर्दैन। किनकी सिन्धुलीको बजारबीच लोकतान्त्रिक चउरमै फलेको छ ‘विकासे जुनार’!
केही महिना अघि सिन्धुलीको खम्बे चउर अर्थात, लोकतान्त्रिक चउरको गुलमोरको रूख रातारात ढालियो। त्यो रूखको यतिबेला सिन्धुलीमा चर्चा सेलाउन नपाउँदै सो स्थानमा कमलामाई नगरपालिकाले सिन्धुलीको पहिचान झल्किने जुनारको प्रतीमा निर्माण गरेको छ। रहरलाग्दा तीन गेडा जुनार दिनमा भन्दा रातमा झन स्वादिला देखिन्छन्, बिजुली बत्तीका कारण।
सडक निर्माण, विद्युतीकरण, रेल्वे लिक सर्वे, पेट्रोलिम पाइप लाइन निर्माण, भवन निर्माण आदिका नाममा प्राकृतिक स्रोत साधनको दोहन हुने क्रम पछिल्लो समय अत्यधिक रूपमा बढ्दो छ।
वातावरणीय हिसाबले यो समस्याका रूपमा देखापरेको छ । रूख शुद्ध, सफा हावाको खानी अनि जननी हो। रूख वातावरण र पर्यावरणको पर्याय पनि।
विकासका नाममा निर्माण गरिने सिमेन्टका कंक्रिट संरचनाले वातावारणलाई नै खिज्याइरहेको भान हुन्छ।
‘रूख रोपौं, हरियाली जोगाऔं, रूख रोपौं भूक्षय रोकौं,रूख रोपौं वातावरण सफा पारौं’ जस्ता अनेकौं नारा हामीले जान्दैदेखि सुन्दै, पढ्दै, र लेख्दै आएका हौं।
पछिल्लो समय देशमा लोकतान्त्रिक गणतन्त्र घोषणापछि संघीयता, समावेशीता, धर्मनिरपेक्षता, समानता भैसकेपछि हरेक जाति, समुदाय, भूगोल र क्षेत्रले पहिचानको मुद्दा जोडतोडले उठाउने गरेका छन्।
पहिचानकै लागि भनेर विशेषगरी देशका विभिन्न पहाडी जिल्लाहरूमा लालीगुराँस, ढाडे बिरालो, काउली, एभोकाडो, लसुन, तोङ्वा त कतै कलश, एक सिंहे गैंडा आदिका प्रतीमा निर्माण गर्ने क्रम तीव्र छ।
एक हिसाबले यी बस्तुको निर्माण गरेर आफ्नो जिल्ला तथा क्षेत्रको पहिचान स्थापना गर्नु राम्रो हो। तर सोही स्थानमा भइरहेको रूख नै ढालेर सिमेन्टको प्रतीमा बनाउनु चाहिँ कत्तिको शोभनीय हो? पहिचान खोज्ने र बजारको बीचमा शितल छहारीले शोभा दिइरहेको रूख काट्नेहरूलाई यो प्रश्न यतिबेला सिन्धुलीका हरेक वातावरणविद्हरूले सोध्ने गरेका छन्।
एउटा गुलमोरको रूख काटिनु ठूलो चिन्ता र चासोको विषय होइन। तर विकास र पहिचानका नाममा यसरी प्रकृतिमाथि निरन्तर दोहन गर्ने प्रवृत्ति चाहिँ ठूलो समस्या हो।
जसरी प्रत्येक मानिसको आफ्नो पहिचान र स्वभाव हुन्छ त्यसैगरी प्रत्येक देश, प्रत्येक प्रदेश र प्रत्येक जिल्ला, गाउँ, टोल र गल्लीको पनि आफ्नो विशेषता र पहिचान हुन्छ।
आफ्नो जिल्ला र क्षेत्रको पहिचान झल्काउने काम पनि स्थानीय जनता र प्रतिनिधिहरूकै हो । तर त्यसका लागि सबै सरोकारवालाको सल्लाह, सुझाव, प्रतिक्रिया र अनुमति लिएर काम गर्दा त्यसले लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक मूल्य र मान्यता अनि संस्कार पनि अंगाल्ने थियो।
बजारको बीचमा जुनारको प्रतीमा ठडिएपछि सिन्धुलीका नगरवासी प्रश्न गर्न थालेका छन्। यदि त्यही खम्बेचौरीमै शालिक बनाउनु थियो भने किन बजारको सौन्दर्यका रूपमा रहेको चौतारो मासेर शालिक बनाउने निर्णयमा नगरपालिका पुग्यो? चौतारो नमासिकन त्यसैको छेउमै शालिक बनाउन पनि त सकिन्थ्यो। चौतारोले दिएको सौन्दर्य शालिकले नदिएको र शालिकले दिएको सौन्दर्य पनि चौतारोले दिन नसकेको जिल्लाबासी बुद्धिजीवी, पत्रकार, तथा वातावरणविद्हरूको भनाइ छ ।
रूख मासेर कंक्रिटका संरचना ठड्याउनुमात्र विकास हो भन्ने मानसिकता अब सिन्धुलीको लोकतान्त्रिक चोक उर्फ, खम्बे चउरमा प्रमाणित भएको छ।
मौसम र बेमौसम दुवै समयमा यो ‘विकासे जुनार’ अब सधैंका लागि फलिरहने छ। चपौलीका एक स्थानीयले भने, ‘जुनार सुपर जोन’ का किसान बिरुवा, किटनाशक औषधि, बजारीकण, आदिबाट उत्पीडित छन्, यताको जुनारको बोट भने न कहिल्यै बूढो हुन्छ, न मर्छ, न औषधि छिट्नुपर्छ न त बजारीकरणकै झमेला, निरन्तर फलिरहन्छ मात्र तीन गेडा।’
बजारको चोकमा, दोबाटो वा चौबाटोहरूमा र राजमार्गका बीचमा निर्माण गरिने यस्ता सिमेन्टका ‘विकासे’ संरचनाले खासखास भूगोलको पहिचान स्थापित त गरेका छन् नै तर त्यस्ता संरचना निर्माण गर्नका निम्ति बगैंचा र पार्क नै मास्नु कति शोभनीय हुन्छ ? यो प्रश्नको उत्तर खोज्ने र निर्णय लिने जिम्मा भने स्थानीय सरकारलाई !
विकास पत्रकारिता र वातावरण पत्रकारिताले पनि यसरी गरिने विकासलाई साँचो अर्थमा विकास मान्दैन। कुनै पनि विकास निर्माण कति आर्थिक खर्चमा गरियो भन्दा पनि त्यो कति मानिसलाई सेवा पुर्याउने उद्देश्यका साथ निर्माण भयो र त्यसबाट कति जनता लाभान्वित भए भन्ने कुरामा विशष जोड दिन्छ।
कुनै पनि विकास निर्माणले वातावरणीय अनुकूलता वा प्रतिकूलता के सिर्जना गर्यो त्यो नै प्रमुखताका साथ हेरिन्छ र साँचो अर्थमा विकासलाई वातावरणीय आँखाले हेरेर मूल्याङ्कन गरिन्छ। प्रकृति नै हरेक वस्तुको जननी भएकाले अहिलेको सन्दर्भमा विकासप्रेमी, वातावरणविद्, योजनाकार, र विकसित भनिएका राष्ट्रहरूले ‘ब्याक टू नेचर’ (प्रकृतिमै फर्कौं) को अवधारणा अगाडि सारेर काम गर्न थालिसकेका छन्।