अहिले डेंगी ज्वरो नियन्त्रण नभएर स्वास्थ्य मन्त्री, सचिव र ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख चौतर्फी आलोचित भइरहेका छन्।
गत वैशाख ३० गते देखि सुनसरीको धरानबाट देखिएको डेंगी ज्वरो घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ। अहिलेसम्म देशभरका ४२ जिल्लामा ५ हजार भन्दा बढीलाई डेंगी ज्वरोले संक्रमण गरिसकेको छ। यो सरकारी तथ्याङ्ग भए पनि यसलाई ‘अण्डर रिर्पोटिङ’ भन्न सकिन्छ। किनभने केही मानिसहरु नीजि क्लिनिक र ल्यावमा डेंगी ज्वरो सेरोलोजी टेष्ट गरेकाले सो तथ्याङ्क ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्राप्त गर्न सकेको छैन।
डेंगी ज्वरोको प्रकोपले धेरै जनसंख्यालाई प्रभावित गरिसकेको छ तर समयमा सम्बन्धित सरोकारवाला निकायले काम नगर्दा नियन्त्रण बाहिर गएको हो। यसका अलावा डेंगी नियन्त्रण नहुनुका अरू पनि कारण छन्। मैले त्यसलाई बुँदागतरूपमा तल लेखेको छु।
डेंगी नियन्त्रण नहुनुका मुख्य कारणहरु
१. मौसमी परिवर्तनः सामान्यतया डेंगी ज्वरो गराउने भेक्टर एडिस जातको पोथी लामखुट्टे वर्षा याम पछि (पोष्ट मनसुन) सक्रिय हुन्छ। यसपालि बैशाख जेठतिर नै फाट्टफुट्ट वर्षा सुरू भएकाले प्रि–मनसुन बाटै डेंगी ज्वरोको प्रकोप अचानक बढ्यो।
लामखुट्टेका अण्डा र लार्भा जब पानीको सम्पर्कमा पुग्छ लामखुट्टेका रुपमा विकास हुने गर्दछन्।
२. संघीय सरकारले समयमा सक्रियता नदेखाउनुः डेंगी ज्वरोको प्रकोप हुनासाथ १ नं प्रदेश सरकार र त्यहाँका धरान, इटहरी उपमहानगरपालिका तथा विराटनगर महानगरपालिका लगायत नगर –गाउँपलिकाले प्राथमिकताका साथ गतिविधिहरु संचालन गरे। तर संघीय सरकारले सो समयमा जति सक्रियता देखाउनुपर्थ्यो त्यो देखाएन।
३. तीन तहको सरकारबीच समन्वयको कमीः डेंगी ज्वरोको प्रकोप हुनासाथ स्थानीय सरकारले प्रदेश र संघसँग सहयोग याचना गरे पनि समन्वय र नेतृत्वको कमी देखियो। तिनै सरकारले एक अर्काको मुख ताक्दाताक्दै डेंगी ज्वरोले ठूलो जनसंख्यालाई प्रभावित गरिसक्यो। स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच एकले अर्कालाई दोषारोपण गर्दागर्दै समय वित्यो ।
४. अनुगमन तथा सुपरीवेक्षण प्रभावकारी नहुनुः यो बीचमा संघ र प्रदेश तहका पदाधिकारीहरु डेंगी ज्वरोको अनुगमन तथा सुपरीवेक्षण गर्न आएपनि मौखिक निर्देशन र जानकारी दिएर फर्कने भएकोले नियन्त्रण त्यति प्रभावकारी हुन सकेन।
५. बजेटको अभावः ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शीर्षकका लागि संघ, प्रदेश र स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्नु पनि डेंगी नियन्त्रण नहुनुको अर्को महत्वपूर्ण कारण हो। यस पटकको डेंगी महामारीले राम्रो पाठ सिकाएको छ। खास गरी स्वास्थय क्षेत्रलाई आवश्यक मात्रामा बजेट छुट्याउनु पर्नेमा ध्यानाकर्षण गराएको छ।
६। जनचेतनाको कमी हुनुः डेंगी ज्वरो गराउने लामखुट्टे दिउँसो सक्रिय हुने भएकोले बिहान, दिउँसो र साँझमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। डेंगी ज्वरो नियन्त्रणको मुख्य उपाय नै संक्रमित लामखुट्टेको टोकाईबाट बच्नु हो। त्यस्तै लामखुट्टोको संख्यालाई पनि नियन्त्रण गर्न सक्नु पर्दथ्यो। जस्तोः लामखुट्टेकोको लार्भा खोजी र नष्ट गर्ने कार्य। यी सबै कार्य सञ्चालन गर्न समुदायको केही जनंख्यामा जनचेतनाको कमी देखियो भने केहीको वेवास्ता गरेको पाइयो।
७. समुदायको सक्रिय सहभागिता नहुनुः समुदायको केही मानिसमा डेंगीबाट बच्ने सबै उपायहरुबारे जानकारी हुँदाहुँदै पनि सक्रियता नभएका कारण प्रतिदिन बढेर गइरहेको छ।
डेंगी ज्वरोबारे वडा स्तरीयमा जनचेतनात्मक कार्यक्रम सञ्चालन भइरहँदा केही मानिसहरु भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले मात्र नियन्त्रण गरिदिनु पर्ने जस्तो गरेर वेवास्ता गरे। घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पानी जम्मा हुन नदिन र विशेष गरी दिउँसो लामखुट्टेको टोकाईबाट बँच्न सके मात्र पनि डेंगी ज्वरो नियन्त्रण हुने निश्चित प्रायः छ। त्यस्तै, लामखुट्टेको अण्डा र लार्भाको खोजी तथा नष्ट गर्ने अभियानमा समुदायको परिचालनमा कमी हुनु पनि डेंगी ज्वरो बढ्नुको कारण बन्यो।
८.अनविज्ञ र अन्धाधुन्द नियन्त्रण प्रयास गर्नुः स्थानीय सरकार र जनप्रतिनिधिलाई डेंगी नियन्त्रण गर्न प्रभावित क्षेत्रका जनताले चर्को दवाब दिएपछि डेंगु नियन्त्रण गर्न कतिपय स्थानीय निकायले अन्धाधुन्द र अनविज्ञरुपमा नियन्त्रण प्रयास गर्यो। जनताको आँखामा छारो हान्ने प्रयास भए।
परिणामतः नियन्त्रण हुनसकेन। जस्तोः लामखुट्टे नियन्त्रण गर्न फगिङ्ग गर्यो। त्यस्तो केही पालिकालेले त दमकलमा पानी र मट्टीतेलको अघुलनशील मिश्रण बनाएर छकर्ने काम पनि भयो। जुन गतिविधिहरु लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी होइन। यस्ता कार्यलाई वातावरणलाई थप असर पुग्यो।
९. विशेषज्ञको राय नलिनुः डेंगी नियन्त्रण गर्न लामखुट्टेको अण्डा, लार्भा र एडल्ट लामखुट्टे नियन्त्रण नगरी असम्भव प्रायः छ। तसर्थः डेंगीले प्रकोपको रूप लिनुपूर्व नै वा समयमा नै विशेषज्ञको राय अनुसार संघ, प्रदेश र स्थानीयले गतिविधिहरु संचालन गर्नु पर्दथ्यो।
डेंगी ज्वरो नियन्त्रणको उपायहरुः
डेंगी ज्वरो नियन्त्रण गर्न नसकेपछि अहिले सरकारले सेना र प्रहरी परिचान गरेर भए पनि नियन्त्रण गर्ने आश्वसन दिइरहेको छ।
हुन त डेंगी ज्वरो नियन्त्रणको लागि लामखुट्टेको लार्भा अण्डा खोजी र नष्ट गर्ने कार्य सर्च एण्ड डिस्ट्रोएड भन्ने फौजी शब्दावली नै हो। तर जवसम्म समुदायको मानिस सक्रिय भएर अभियानकै रूपमा डेंगी ज्वरो नियन्त्रणमा नलागेसम्म सेना वा प्रहरीको सहयोगले मात्र नियन्त्रण गर्छु भन्नु केवल सरकारले आफ्नो आत्म रक्षा गरेको मात्र हो भनेर बुझ्न सकिन्छ।
साँच्चिकै सरकार डेंगु नियन्त्रणमा लागेको हो भने संघीय सरकारको नेतृत्वमा प्रभावित क्षेत्रमा स्थानीय घर, टोल, गाउँ र वडा हुँदै सिंगो पालिकाका सबै सरकारी निकाय, गैसस, विद्यालय, सेना प्रहरी र सरोकारवाला संघ संस्था र व्यक्तिहरुसँगको संयुक्त सहकार्यमा निरन्तर जनचेतनात्मक गतिविधिहरु र सर्च एण्ड डिस्ट्रोएड कार्यलाई वालमैत्री वडा, पूर्ण खोपयुक्त पालिका वा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरे जस्तै अभियानकै रुपमा डेंगी ज्वरोमुक्त वडा र पालिका निर्माण अभियान संचालन गर्नु पर्ने आवश्यकता देखिन्छ। नत्र भने पोष्ट मनसुनमा प्राय देखिने डेंगी ज्वरोले अझै नेपालीहरुको विशेष चार्ड दशैँतिहारसम्मै दुख दिने निश्चित प्रायःछ।
(लेखक इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज हुन्)