मधेसमा एउटा भनाइ प्रचलित छ— घरकी गहना छोरी, ससुरालकी बुहारी।
गहना त घरमा सजाइने वस्तु नै भयो, बुहारीको हैसियत पनि त्यस्तै त छैन? हाम्रो समाजमा छोरी र बुहारीको आफ्नो नाम र पहिचान छ त? भित्री मधेसको समाजकी सदस्य भएपछि यस्तै प्रश्न उठेको छ।
म पहाडी समाजमा जन्मेकी थिएँ, भित्री मधेसकी बुहारी भएँ। मेरो बिहे नवलपरासीको रामग्राम नगरपालिका जितपुरको गाउँमा भयो। म पहाडको समाजमा र अलि खुला वातावरणमा हुर्केकी थिएँ। त्यसैले मधेसको चालचलन जान्दिनथेँ।
सुरूसुरूमा यहाँको समाजमा भाषिक र साँस्कृतिक रूपमा भिज्न निकै अप्ठ्यारो पर्यो। मधेसको खानपान, रहनसहन मेरो लागि एकदमै नौलो थियो। झन् महिलालाई गरिने व्यवहार र बुझाइ अत्यन्त असमानपूर्ण। घुम्टो, दाइजो बालविवाहजस्ता कुसंस्कार व्याप्त थिए।
बिहेको केही समयपछि नै कलेज जान थालेँ। कलेज जाँदा गाउँमा नानाथरी कुरा भयो। कसैले 'ओहो, देखा देखा फलानाको पतोहा पढे जातिया, बुझाता डाक्टर साहेब बनजाइया' भनेर भन्थ्यो।
कहिलेकाहीँ टाउकोबाट सल वा साडीको आयल खसेको हुन्थ्यो, कसैले भन्थ्यो, 'देखा इ पाहाडिन देखथी हामनको पतोहाको विगार दारीय।'
कसैले 'छ छुन्नर बा !' भनेर कुरा काट्थे।
त्यस्ता कुरा सुनेर म अत्यन्त मर्माहत हुन्थेँ।
मलाई लाग्थ्यो, म कुनै पुरुषभन्दा कम पढे-लेखेकी पनि छैन। मसँग पनि समाज परिवर्तन गर्ने सपना छ। गाउँ विकास गर्ने अवसर पाएसम्म कुनै कसर छोड्ने छैन भन्ने आत्माविश्वास छ। म सोच्थेँ, किन र कहिलेसम्म यस्तै निम्छरो भइराख्ने?
नेपाली समाजमा धेरै क्षेत्रमा फेरबदल आउन थाल्यो। मधेसमा पनि विस्तारै सामाजिक र राजनीतिक परिवर्तन हुन थाले। पछिल्लो समय राजनीतिक पार्टीसहित सामाजिक संघसंस्थामा महिला अनिवार्य हुनुपर्ने नियम आयो। गाउँको सामाजिक जीवन म सक्रिय थिएँ। गाउँमा अलिकति टाठीबाठी र सक्रियमध्ये एक भएकै कारण राजनीतिक रूपमा अगाडि आएँ।
सुरूसुरूमा मलाई कुनै संस्थामा उपाध्यक्ष र कुनैमा सहसचिवजस्तो पदमा राखिन्थ्यो। यस्ता पदको खासै महत्व हुँदैनथ्यो। भए पनि ठीकै, नभए पनि ठीकै भन्ने खालका। आफू बसेको संस्थामा कुनै दिन जानेबुझेको सल्लाह सुझाव दिन खोज्दा अप्ठ्यारो मानिन्थ्यो।
'ससुरा भसुरा के सामुने नाइ बोलल जाला बुहारी' भनेर बोल्ती नै बन्द गराइन्थ्यो। महिलाको मुख थुन्ने र घरको चारदिवारीमै कैद गर्ने काम कुनै न कुनै तरिकाले जारी छ।
यस्तो ताल देखेर पहिल्यैदेखि म छक्क पर्थें। चिन्तित पनि हुन्थेँ– महिलामाथि गरिने यस्ता विभेद र असमानता कहिले परिवर्तन होला भनेर। पुरानाका मानसिकतामा समस्या हुनु अनौठो भएन, नयाँ पुस्तामा त नयाँ चेतना र बुझाइ होला भन्ने आशा मनमा जगाउन खोज्थेँ।
यसैबीच हाम्रो गाउँमा नयाँ बुहारी आइन्, मलाई धेरै खुसी लाग्यो। पढेलेखेकी बुहारी गाउँमा आएपछि साथ पाउन आश बढ्यो। आफूले अनेक प्रयत्न गर्दा पनि कतिपय अन्धविश्वास र कुसंस्कार हटाउन सकेकी थिइनँ। यस्तो अवस्थामा नयाँ बुहारीको साथले परिवर्तन गर्न सकिन्छ कि भन्ने आशा पलाएको थियो।
म हौसिँदै नयाँ बुहारीको घर पुगेँ। घरमै भेटिएकी बुहारीसँग एकछिन बसेर भलाकुसारी गरेँ।
यसै क्रममा उनलाई भनेँ, 'तिमी पढे-लेखेकी छौ, तिमी म र अरु २–४ जना मिलेर केही गरेर देखाउनुपर्छ। यहाँ अन्धविश्वास धेरै छ। झाँक्री, शोकमाता मान्ने चलन छ। हामीले मिलेर कुरीति हटाउनुपर्छ।'
उनले जवाफ दिइन्, 'आन्टी, पढ्ने-लेख्ने जति काम माइतमै गरियो। अब त श्रीमान, सासू, ससुराको सेवा गर्छु। यसै घरलाई स्वर्ग बनाउँछु। मलाई बाहिरी दुनियाँमा संघर्ष गर्नु छैन।'
म अचम्म परेँ। मनमा केही जवाफ नै आएन। सोचेँ- यदि म उनको ठाउँमा भएकी भए के गर्थेँ। उनको श्रीमान पढे-लेखेका भए उनलाई खेतबारी र घरमै सीमित राख्थे त? कदापी राख्थेनन्।
कुरो कहाँनिर फरक पर्यो त भनेर परिवेश बुझ्दै गएँ। विस्तारै दिन बित्दै गए, घरबाट निस्कने र निकाल्ने मेरो प्रयास जारी रह्यो। मेरो बिहे भएको छ वर्षपछि घरनजिकै छिमेकीमा अर्की पढे-लेखेकी बुहारी आइन्।
त्यस बेला पनि म खुसी नै भएँ। अब त नयाँ बुहारीबाट मलाई साथ सहयोग हुन्छ। अब त पक्कै सजिलो हुन्छ भन्ने ठूलो आशा गरेँ।
विडम्बना, त्यस परिवारले पनि बुहारीलाई बाहिर निस्कन दिइएन। त्यो घरपरिवारले लगभग एक वर्षसम्म त 'सिकादिए' भनेर भन्ने चलन छ। यदी कोही उनीहरूको घरमा जाने-आउने गरेछन् भने पनि भेटघाट गर्न दिइएन।
मनमनै सोच्थेँ, विचरी भित्रभित्रै कति आत्तिन् होला। कहिलेकाँही उनी छतमा कपडा सुकाउन आउँथिन्। नबोले पनि मलाई माया लाग्थ्यो। उनी पनि पढे-लेखेकी छिन्। उनलाई पनि पक्कै सकस भएको हुनसक्छ।
बुझ्दै जाँदा पत्ता लगाएँ, महिलालाई 'घरपालुवा' बनाउने पुरानो संस्कार हाम्रो समाजमा बलियो रहेछ। नयाँ नयाँ बुहारी भए पनि उनीहरू यस्तै पुरानो संस्कारमा हुर्केकी छोरी रहेछन्। पढे-लेखेकी भए पनि घरेलु संस्कार फेरिएको रहेनछ। उनीहरूले पनि माइतमा आमा, भाउजू, बुहारीले गरेको व्यवहार र संस्कारबाट सिकेका थिए। यस्ता संस्कारको शिक्षा निकै बलियो रहेछ, तोड्न गाह्रो।
धेरैजसो पुरानो हिन्दू समाजमा यस्तै नराम्रो नियम थियो, अझै बाँकी छ ठाउँठाउँमा। पहाडी भेगमा कम होला, मधेसमा धेरै नै छ। पहाडमा पनि धनी–गरिबको विभाजन, जातव्यवस्था, लैंगिक भेद छ, सानो ठूलो पदको मान्यता छ। तर पनि घरबाहिर निस्कने नदिने परम्परा तोडिँदैछ।
मधेसमा पनि धनी–गरिबको विभाजन, जातव्यवस्था, लैंगिक भेद छ। योभन्दा बढी महिलालाई उँचनीच–हेलाहोचो गर्ने र घरको चारदिवारीभित्र कैद गर्ने चलन अझै बलियो छ।
गरिब घरका महिलाहरू कामधन्दा गरी खान पनि घरबाट निस्कनुपर्ने बाध्यता छ। तर भनिन्छ, धनीमानी घरका बुहारी त छोराछोरीको बिहेमा पनि घरबाहिर निस्किँदैनन् ! यहाँका धेरैजसो पुरुष भने महिलाका समस्या बुझेर पनि नबुझेझैं चुप लागेर बस्छन्। हाम्रो मधेसका पुरुषहरूको मर्दानगी हो कि अज्ञानता, चारदिवारीभित्र कैद गर्न सकेकोमा उनीहरू गर्व गर्छन्।
चियापसलमा २–४ जना पुरुष गफ गरेर बस्दा भन्छन्, 'हामार मौगी घरसे बाहार नाइनिक्लेलिन उ गौ है।' मानौं, घरबाट ननिस्कनु भनेको असल बुहारी हुनु हो। अनि बाहिर निस्कनेहरू सबै खराब !
यसले महिलाहरूको स्वतन्त्रता र विकासमा कति नराम्रो प्रभाव पारेको होला, सजिलै ठम्याउन सकिन्छ।
महिलाहरूलाई घरबाहिर निस्कन नदिनु कसरी राम्रो संस्कार हो? घर-ससुरालका 'गहना' बनाउनु कस्तो सजावट हो? जनसंख्याको आधाभन्दा बेसी महिलालाई 'घरपालुवा' बनाएर कसरी सम्मानसहितको सुखी र समृद्ध समाज बन्छ?
छोरीबुहारीहरूलाई सहज रूपमा खुला हिँड्न र बाहिरी समाजमा घुलमिल हुन दिनुपर्छ। घरको ढोका खोल्नुपर्छ र घरबाहिरको बाटो फराकिला पार्नुपर्छ। जुन सुकै समाजमा पनि महिलामैत्री परिवार, समाज र राजनीति बनाए मात्र सम्मानसहितको सुखी र समृद्ध समाज बन्ने हो।