नेपाल सरकारले पर्यटनलाई विकासको मुख्य क्षेत्र मानेको छ। विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम पर्यटनलाई बनाउने प्रत्येक सरकारी घोषणामा रहेको हुन्छ।
तर नेपालीहरुले नै घुम्नकै लागि भनेर अर्बौ नेपाली रुपैयाँ बाहिर लिने गरेका छन्।
गएको आर्थिक वर्षको ११ महिनामा नेपालीहरुले पढाइ र घुमफिरकै नाममा ८० अर्ब बाहिर लिएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गएको वर्ष नेपलीहरुले पढाइका लागिमात्रै ४० अर्ब खर्च गरेका छन्।
नेपालीहरूको जीवनस्तर र प्रतिव्यक्ति आयमा खासै सुधार भएको छैन। तर पनि नेपालीहरुले घुमेर यत्रो पैसा नेपालीले कसरी खर्च गरे?
बढ्दो रेमिट्यान्सका कारण नेपालमा बढेको केही सेवा क्षेत्रले यस्तो प्रवृत्ति बढाएको सरोकारवालाहरुको भनाइ रहेको छ।
नेपालमा अहिले ठूलो तप्का मध्यम वर्गमा स्तरोन्नति भएको र यसले विदेशका विकास र प्रविधि हेर्नकै लागि भएपनि र घुम्न जाने गरेका छन्। वित्तीय क्षेत्रमा काम गर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने, ठूला कर्पोरेट हाउसमा कार्यरतहरूले यस्तो अवसर पाइरहेका छन्।
नेता, सरकारी कर्मचारी र सहकारीमा काम गर्नेको विदेश भ्रमण पनि बाक्लिएको छ।
नेपालीले बाहिर पैसा लैजाने अर्को कारण हो, पढाइ।
नेपाल विद्यार्थीहरूले अष्ट्रेलिया, अमेरिका र विभिन्न युरोपेली मुलुकमा पढ्नका लागि यो पैसा लिएका हुन्।
वस्तु व्यापारमा यसै पनि घाटामा रहेको नेपाल पछिल्लो समय सेवा व्यापारमा पनि घाटामा गएको छ।
यस्तो खर्चले मुलुको वैदेशिक मुद्रा सञ्चितिमा स्वतः दबाब सिर्जना गर्ने छ। वस्तु तथा सेवा आयात गर्नका लागि आवश्यक पर्ने यस्तो वैदेशिक मुद्रो सञ्चिति घट्दै गएको छ।