एक हजारको एउटा नोट छाप्न ३ रुपैयाँ ३७ पैसा लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। जसमा एउटा नोटको औसत लागत ३ रुपैयाँ ३७ पैसा पर्ने देखिएको हो।
राष्ट्र बैंकले उक्त नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टीङ एण्ड मिन्टिङसँग असोज १२ मा सम्झौता गरेको थियो।
बैंकले एक सूचना जारी गर्दै हजार रुपैयाँको ३१ करोड थान अर्थात् ३ खर्ब १० अर्ब रुपैयाँ छाप्न उक्त चिनियाँ कम्पनीसँग ९१ लाख ९० हजार अमेरिकी डलरमा सम्झौता भएको जनाएको छ।
आज तोकेको एक डलर बराबर १ सय १४ रुपैयाँ बिनिमय दर अनुसार एक हजार रुपैयाँको नोटको औसत खर्च ३ रुपैयाँ ३७ पैसा पर्ने देखिएको हो।
बैंकले गत असार १२ मा नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागी बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रको मूल्याङ्कनमा सबैभन्दा न्युनतम मूल्य चिनियाँ कम्पनीको परेकाले उसैलाइ नोट छपाइको जिम्मेबारी दिएको हो।