वार्षिक शुल्क नबुझाएपछि नेपाल स्टक एक्चेन्जले ८२ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले हरेक वर्ष आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । यसरी शुल्क नबुझाएको भन्दै शेयर कारोबार रोक्का गरेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेको बताएको छ। यसरी शुल्क नबुझाएर कारोबार रोक्का हुनेमा सरकारी बहु स्वामित्वको नेपाल टेलिकमदेखि विदेशी लगानी रहेको युनिलिभरसम्म छन्।
सोल्टी होटल, याक एण्ड यति, लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, चिलिमे पावर, अपि पावर लगायत कम्पनीको कारोबार रोक्का भएको छ।
करोबार रोक्का हुनेमा १९ लघुवित्त, १८ विकास बैंक, १३ जलविद्युत, १२ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन, २ व्यापार, २ होटल, २ अन्य, तथा २ बीमा समुहका कम्पनीहरुले नविकरण नगरेको नेप्सेले जनाएको छ ।
हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ ।
धितोपत्र सुचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार र त्यस भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।