एक दिनको ‘सेल डे’ मनाउन लागेको अलिबाबाले आइपिओ जारी गर्ने भएको छ। विश्वको जाइन्ट इकमर्स अलिबाबाले हङकङको बजारबाट आइपिओ खुल्ला गर्न लागेको हो।
उसले सेप्टेम्बरको अन्तिममा हङकङमा १० देखि १५ अर्ब अमेरिकी डलर बराबरको आइपिओ जारी गर्नसक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
शेयर कारोबारको लागि यही हप्ता हङकङको शेयर बजारमा लिस्टीङ हुने बताइएको छ। अलिबाबाले जारी गर्न लागेको शेयर बजारले हङकङको आर्थिक कारोबार झनै बढाउने छ।
अहिलेसम्म एकै दिनमा सबैभन्दा धेरै कारोबार गरेर रेकर्ड बनाएको अलिबाबाकै नाममा सबैभन्दा ठूलो आइपिओ जारी गरेको रेकर्ड पनि छ।
अलिबाबाले सन् २०१४ मा अमेरिकाको शेयर बजारमा २५ अर्बको शेयर लिस्टीङ गरेको थियो।
उसले गत वर्षको सेप्टेम्बर ११ मा एकै दिनमा ३०.८ अर्ब डलरको अनलाईन कारोबार गरेको थियो। यो एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो कारोबार हो।
उसको हङकङमा शेयर लिस्टीङ गर्ने योजना अगस्टदेखि नै थियो। तर, हङकङको राजनीतिक माहोलका कारण लिस्टीङपछि सरेको हो।
अलिबाबाले जुलाईदेखि सेप्टेम्बरसम्म आम्दानी पनि घोषणा गरेको छ। पछिल्लो एक वर्षमा अलिबाबाको आम्दानी ४० प्रतिशतले बढेर ११९.०२ अर्ब युआन भएको छ। गतवर्ष अलिबाबाको आम्दानी ८५.१५ अर्ब युआन थियो।