वाणिज्य बैंकहरुको नाफा वृद्धिदर खुम्चिएको छ।
गत आर्थिक वर्ष समीक्षा अवधिमा २५ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको पहिलो त्रैमासमा भने जम्मा ६ प्रतिशत मात्रै बढाएका छन्। तीन महिनामा २८ बैंकले १६ अर्ब १७ करोड खुद नाफा कमाएका छन्। गत वर्षको यस अवधिमा १५ अर्ब २२ करोड कमाएका थिए।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यले नाफामा सबैलाई उछिनेको छ। वृद्धिदरका आधारमा भने एनएमबि अगाडि छ। उसको नाफा ४८ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा यस आवको पहिलो त्रैमासमा ८ बैंकको नाफा घटेको छ। नेपाल बैंकको सबैभन्दा बढी ३६ प्रतिशतले नाफा घटेको छ। इन्भेष्टमेन्ट, सिटिजन्स, बैंक अफ काठमाण्डु, सिभिल, सिद्धार्थ, एसबिआई र एनसिसीको नाफा घटेको छ।
राष्ट्रिय वाणिज्य, नविल र एनआइसी एसिया बैंक पहिलो त्रैमासमै अर्बपति सूचीमा परेका छन्। गत वर्षको यस अवधिमा अर्बपति सूचीमा रहेको इन्भेष्टमेन्ट बाहिरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ राष्ट्र बैंकले स्प्रेड दर घटाउँदा र गणना विधि परिमार्जन गर्दा नाफामा असर परेको बताउँछन्।
‘स्प्रेड दर ०. १० प्रतिशतले घटाइएको छ, स्प्रेड दर गणना विधि पनि परिमार्जन हुँदा राष्ट्रिय वाणिज्यसहित अन्यको नाफामा पनि असर परेको हो’ उनले सेतोपाटीसँग भने।
बैंकहरुले पैसा जम्माकर्तालाई दिने र ऋणीबाट लिने व्याजको अन्तर नै स्प्रेड दर हो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस आर्थिक वर्षको असार मसान्तसम्म ४.४० प्रतिशतमा स्प्रेडदर झार्नुपर्ने व्यवस्था गरेको छ। हाल यसको सीमा .५ प्रतिशत छ।
त्यस्तै स्प्रेड दर गणना विधि पनि परिमार्जन भएको छ। बैंकहरुले सरकारी ऋणपत्रमा गरेको लगानीबाट आउने व्याज/प्रतिफल अब स्प्रेड दरमा गणना गर्न पाइँदैन। यो व्यवस्था कतिपय बैंकले पहिलो त्रैमासबाटै लागू गरिसकेका छन्। यसले गर्दा पनि औसतमा बैंकहरुको नाफा बृद्धिमा गिरावट आएको श्रेष्ठले बताए।
समग्रमा ऋणपत्रबाट आउने व्याज कम हुने भएकाले यसले बैंकहरुको औसत व्याज आम्दानीलाई कम देखाउँछ। बैंकहरुले ग्राहकलाई दिने औसत व्याज यथावत हुँदा स्प्रेड दर बढी देखिन्छ। यसले गर्दा कतिपय बैंकको स्प्रेडदर ५ प्रतिशतभन्दा माथि छ।
त्यस्तै ग्रामीण क्षेत्रमा पनि बैंकहरुका शाखा संचालन हुने क्रम बढेकाले बैंकहरुको संचालन खर्च बढ्न गई नाफामा असर परेको बैंकर बताउँछन्।
राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको एउटा शाखा हुनुपर्ने व्यवस्था गरेपछि बैंकहरुले ग्रामीण क्षेत्रमा शाखा संचालनमा ल्याएका छन् भने, कतिपय संचालनको तयारीमा छन्।
बैंकहरुमा निक्षेपको अभाव हुँदा मागअनुसार कर्जा प्रवाह हुन सकेको छैन, यसले पनि बैंकहरुको नाफामा संकुचन आएको हो। बैंकहरुले वित्तीय विवरणमा लगानीयोग्य रकमको अभावलाई प्रमुख चुनौतिका रुपमा प्रष्ट्याएका छन्।
संकलन भएको निक्षेपबाट बैंकहरुले ८० प्रतिशतसम्म मात्रै लगानी गर्न सक्छन्। धेरैको ७८/७९ प्रतिशत पुगिसकेको छ। यसले बैंकहरु लगानीयोग्य रकमका लागि असुविधामा रहेको देखिन्छ।
बैंक | अहिलेको नाफा (२०७६ असोज) | पहिलेको नाफा (२०७५ असोज) |
राष्ट्रिय वाणिज्य | १ अर्ब १२ करोड ७५ लाख | १ अर्ब ११ करोड ९० लाख |
कृषि विकास | ६० करोड ७३ लाख | ५५ करोड १४ लाख |
नविल | १ अर्ब १२ करोड ३५ लाख | १ अर्ब ५ करोड २४ लाख |
इन्भेष्टमेन्ट | ८४ करोड ४४ लाख | १ अर्ब ५ करोड |
एनआइसी एसिया | १ अर्ब ९६ लाख | ७५ करोड २६ लाख |
एभरेष्ट | ६९ करोड ८ लाख | ६३ करोड ३३ लाख |
हिमालयन | ६९ करोड ४२ लाख | ६४ करोड ९६ लाख |
ग्लोबल आइएमई | ७५ करोड ३१ लाख | ५३ करोड ५८ लाख |
नेपाल बैंक | ५८ करोड १८ लाख | ९१ करोड ३८ लाख |
स्टान्डर्ड चार्टड | ६४ करोड ४१ लाख | ६० करोड ५९ लाख |
प्राइम कमर्सियल | ६५ करोड ९७ लाख | ५८ करोड १९ लाख |
एनएमबि | ८१ करोड ५१ लाख | ५५ करोड ५ लाख |
सिद्धार्थ | ५२ करोड १४ लाख | ५२ करोड ५० लाख |
एसबिआई | ४३ करोड ७२ लाख | ४८ करोड ९७ लाख |
सानिमा | ५९ करोड ३६ लाख | ५१ करोड ८८ लाख |
प्रभु | ६२ करोड ८४ लाख | ५९ करोड ८४ लाख |
बैंक अफ काठमाण्डू | ३८ करोड ३७ लाख | ३८ करोड ६८ लाख |
मेगा | ४३ करोड ३७ लाख | ४० करोड ४५ लाख |
सनराइज | ४५ करोड ४३ लाख | ३३ करोड १४ लाख |
माछापुच्छ्रे | ३७ करोड ६० लाख | ३७ करोड १६ लाख |
नेपाल बंगलादेश | ४० करोड २५ लाख | ३० करोड १९ लाख |
लक्ष्मी | ४० करोड १९ लाख | ३० करोड ३० लाख |
एनसिसी | ३४ करोड ३ लाख | ४२ करोड ८७ लाख |
सिटिजन्स | ३४ करोड ९१ लाख | ४२ करोड ८८ लाख |
जनता | ३६ करोड ६९ लाख | ३२ करोड १९ लाख |
कुमारी | ४० करोड १९ लाख | ३५ करोड १८ लाख |
सेन्चुरी | ३७ करोड ८ लाख | २७ करोड ४० लाख |
सिभिल | १५ करोड ८९ लाख | १८ करोड ५० लाख |