करिब ४४ करोडको लागतमा ठेक्का सम्झौता गरी अत्याधुनिक प्रशासनिक भवन निर्माण सुरू गरेको बुटवल उपमहानगरपालिकाले फेरि अध्याधुनिक सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ।
वर्षौदेखिको पुरानो भवनबाट सेवा प्रदान गर्दै उपमहानगरपालिकाले गत असार ८ गते अत्याधुनिक चारतले प्रशासनिक भवनको शिलान्यास गरेको थियो।
भौतिक निर्माणको लागि संघीय सरकारबाट प्राप्त रकम र बुटवल उपमहानगरपालिकाको आफ्नै स्रोतबाट निर्माण सुरू गरिएको उक्त भवनको बेसमेनको काम सम्पन्न भईनसक्दै फेरि व्यवसायिक सपिङ कम्प्लेक्स निर्माणको लागि सम्झौता भएको हो।
करिब ११ करोड रूपैयाको लागत अनुमान गरिएको यो भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण हुने छ। कुल १० करोड ८४ लाख रूपैंयामा निर्माण पुरा गरिने सो भवनको निर्माण कार्य वैशाखबाट सुरु हुने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
बुटवल ९ स्थित लुम्बिनी बस टर्मिनलमा निर्माण गर्न लागिएको तीन तलाको उक्त कम्प्लेक्स भवनमा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर रहने छन्।
तीनवर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको उक्त भवनको लागि ९० प्रतिशत अर्थात् ९ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाडौंले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
बाँकी १० प्रतिशत अर्थात् १ करोड ८ लाख ४५ हजार रकम भने उपमहानगरपालिका आफैंले व्यवस्थापन गर्ने छ।
पार्किङको अभावमा बजार क्षेत्र साँघुरिदै गएको अवस्थामा बस टर्मिनल भित्र निर्माण गरिने उक्त सपिङ कम्प्लेक्स भवनले सवारी साधन पार्किङको लागि समेत सहज हुने विश्वास गरिएको छ।
सपिङ कम्प्लेक्सको लागि भन्दै यसअघि लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण गरिएको भवनमा प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय रहेपछि उपमहानगरपालिकाले फेरि भवन निर्माण गर्न थालेको हो।
उक्त भवन निर्माणको लागि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारी निर्देशक मनिरामसिंह महतका बीचमा सम्झौता समेत भईसकेको छ।
व्यवसायीक सपिङ कम्प्लेक्स निर्माणले आर्थिक कारोबारको केन्द्र बन्दै गएको बुटवलको लागि दिगो आयस्रोतको आधार बन्न सक्ने प्रमुख सुवेदीले बताए।
यो भवनको आगामी वैशाखबाट निर्माण कार्य सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए ।
कोषका कार्यकारी निर्देशक महतले बुटवलको सम्भावनालाई साकार पार्नेगरि सहकार्य गर्ने सम्झौता भएको बताए ।
कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए ।
भवन निर्माणको लागि सहकार्य गर्न नगरविकास कोषसँग सम्झौता भएपछि अब लगत्तै ठेक्कापट्टा र बाँकी प्रक्रियागत कामहरु अगाडि बढ्ने उपमहानगरपाकिलाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
निर्माण हुने भवनमा पार्किङ स्थल बाहेक विभिन्न साईजका ६८ वटा व्यवसायिक सटर निर्माण हुनेछन्। पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र प्रभावकारी बनाउंदै बुटवललाई, आर्थिक तथा पर्यटकीय केन्द्र बनाउने योजनाका साथ बुटवल उपमहानगरपालिकाले जितगढी, हिलपार्क, मिलनपार्क लगायतको गुरुयोजना समेत बनाईरहेको जनाएको छ ।
यस्तै जवइ खेल मैदान, ट्रान्सपोर्ट भिलेज र विभूति पार्कका लागि पनि गुरुयोजना बनाएर काम अगाडि बढिरहेको नगरप्रमुख सुवेदीले जानकारी दिए ।