महिला श्रृजनशील केन्द्रले साउन र भदौमा ‘एनआईसी एसिया बैंक तीज फेस्टिवल’ आयोजना गर्ने भएको छ।
नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवल नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ ।
सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमामात्र आयोजना हुने गरेको यो फेस्टिवल यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको हो।
काठमाडौंमा साउन १६ देखि २० सम्म आयोजना हुनेछ भने ईटहरीमा साउन ३० देखि ३२ गतेसम्म संचालन हुनेछ। हेटौंडामा भने भदौ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ को समापन पनि हुनेछ ।
तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेला भएको महिला श्रृजनशील केन्द्रको भनाइ छ।
महिला श्रृजनशील केन्द्रका अनुसार यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना श्रृजनाहरु उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्येश्यले वार्षिकरुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्नेमात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ।
यो महिलाहरुको लागि व्यवसायिक सम्पर्क बढाउने माध्यमको रुपमा आयोजना हुँदै आएको छ । महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले तीज फेस्टिभल केवल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यवसायीक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताईन् ।
यो इभेन्टको अवसर पारेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रर्दशकहरु सहभागी हुनेछन भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक गरिने योजना रहेको जनाइएको छ।
प्रदर्शनीलाई आकर्षक र मनोरन्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, स्वास्थ्य जाँच तथा परामर्श, मेहेन्दी कार्यक्रम, कपाल कटिंग कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम निशुल्क राखिएको बैंकले जानकारी दिएको छ।
प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क बिस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।
मेलामार्फत आयोजक संस्थाले असहाय, अपाङ्ग, असक्त र ग्रामीण भेग, पिछडिएका महिलाहरुको लागि निशुल्क स्टलको व्यवस्था गर्दै आएको जनाइएको छ। संस्थाले इभेन्टको प्रवेश शुल्कबाट आउने आम्दानी मध्ये ५० प्रतिशत रकम सामाजिक संस्थालाई दिँदै आएको छ ।