ढुवानी व्यवसायी र सरकारबीचमा सहमति भएको छ । योसँगै सात दिनदेखि ठप्प रहेको ढुवानी सूचारु हुने भएको छ ।
नयाँ आर्थिक वर्षदेखि ढुवानी व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने नियम ल्याएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव सहितको टोलि र ढुवानी व्यवसायीबीच भएको छलफलमा कार्यदल बनाउने विषयमा सहमती भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञावली संयोजकत्वमा कार्यदल बनेको हो । उक्त कार्यदलले ढुवानी व्यवसायमा देखिएको समाधान गर्ने सुझाव सहित ३० दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
छलफलमा गृह सचिव पे्रमकुमार राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की सहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा ढुवानी व्यवसायी महासंघ नेपालका प्रतिनिधी सहितको टोलि सहभागि थियो ।