त्रिपुरेश्वरको पशुपती फुड्स, साजन गोठ र सुन्धाराको गुलाब मिठाई पसलमा मिति नाघेका तथा फोहोर मिठाई भेटिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले हिजो गरेको छड्के अनुगमनमा मिति नाघेका, फोहोर मिठाई भेटिएको हो।
कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्यले मिठाई पसलमा अनुगमन गरेका थिए।
‘हिजो गरिएको अनुगमनमा ती मिठाई पसलमा मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरबाही गरिएका खाद्य पदार्थ बेच्न राखिएको पाइयो’, विभागकी महानिर्देशक बैद्यले भनिन्।
उनका अनुसार त्यस्ता खानेकुरालाई नष्ट गरिएको छ।
विभागकी महानिर्देशक बैद्यले पसल सञ्चालकलाई विभागमा बोलाएकी छन्। राज्यमन्त्री चौधरीले एक हप्ता भित्र पसल सुधार गर्न पसल सञ्चालकलाई निर्देशन दिइन्।
टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदखार्थ लिएको जानकारी दिएको छ।
विष्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जानकारी दिएको छ।