सरकारले लगानी सहजीकरण गर्न स्थापना गरेको एकल विन्दु सेवा केन्द्रको प्रभाव देखिन थालेको सरोकारवालाहरुले दाबी गरेका छन्। काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको पहिलो सेसनका सहभागीले उद्योग र परियोजना लगानीको लागि नीतिगत र प्रक्रियागत सुधार तिब्रगतिमा भइरहेको बताएका छन्।
विदेशी तथा स्वदेशी लगानीकर्ता एउटै कामको लागि धेरै निकायमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।
‘अब नेपाल लगानीका लागि साँच्चिकै आकर्षक मुलुक बनेको छ’ उनले भने।
सार्वजनिक निजी साझेदारीमा आउने चुनौतिलाई न्यूनीकरण गर्नमा सहयोग गर्ने र आयोजनालाई दीर्घकालिन बनाउने गरिएको उनको भनाइ छ।
वाणिज्य, उद्योग तथा आपूर्ति सहसचिव दिनेश भट्टराइले वैदेशिक लगानी आकर्षित गर्नको लागि औद्योगिक व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी ऐन, श्रम ऐनलगायत ३ दर्जन कानून संसोधन गरिरहेको जानकारी दिए।
भट्टराईले एकल सेवा केन्द्रमार्फत पछिल्लो ४ महिनामा १ खर्ब २० अर्ब रुपैयाँको लगानी गर्ने ११० योजनालाई सहायता गरिसकेको बताए।
‘एकल सेवा केन्द्रमार्फत उद्योग स्थापना गर्नको लागि कति समयमा काम हुने भनेर स्पष्ट गर्नुको साथै, भविष्यमा हुने कानून परिवर्तनले कुनै लगानीलाई कुनै असर नगर्ने ग्यारेण्टी गरिएको छ’ उनले भने।
विद्युत विकास विभागका महानिर्देशक मधु भेटुवालले पछिल्लो समयमा जलविद्युतमा लगानी उत्साहजनक देखिएको बताए।
त्यसको लागि विभागले प्रयास पनि गरिरहेका र स्वदेशी र विदेशी दुवै पक्ष आकर्षित भइरहेको उनको भनाइ छ । सरकारले जलविद्युतमा गरिने लगानीलाई सुरक्षित बनाउन हेजिङ सम्बन्धी कानूनी तयार गरिरहेको उनले जानकारी दिए।
रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपाललाई चीन र भारतबाट जोड्ने गरी रेल विकासको काम थालिएको जानकारी दिए।
‘पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ, अध्ययनले सम्भावना देखाएको छ’ उनले भने।
भारतसँग ५ वटा अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने काम अनुसार जयनगर जनकपुर रेलमार्ग सञ्चालनमा आउन लागेको र २ वटा डेमो रेल खरिद प्रक्रिया पुरा भइ आयात गर्न लागिएको र सन् २०१९ भित्र नै सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
म्हानिर्देशक मिश्रले ४० लाख मानिस रहने काठमाडौंमा एकिकृत यातायात प्रणाली आवश्यक भइसकेकोमा जोड दिए। साथै सरकारको अध्ययनले दीर्घकालीन यातायात व्यवस्थापनको लागि मेट्रो रेल सबैभन्दा उत्तम विकल्प देखिएको उनको भनाइ छ।