कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् । बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन – २०१९ को विहिवारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका हुन् ।
युवा उद्यमीहरुले विभिन्न ५ ओटा नविनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका हुन् । कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए।
कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उनको भनाइ थियो।
कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको सुझाव छ । प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ ।
यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताए।
नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उनको भनाइ छ ।
युनाइटेड वल्र्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गरे।
यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको वचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गरेका थिए। प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उनले प्रस्तुत गरेका थिए। उनले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए।