नेपालको औद्योगिक क्षमतामा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले क्षमतामा बृद्धि भएको पाइएको हो।
गएको आर्थिक वर्षको पहिलो छ महिनामा देशभरको औद्योगिक सर्वेक्षन गरी केन्द्रीय बैंकले निकालेको तथ्यांकअनुसार प्रमुख उद्योगहरुले क्षमता बृद्धि भएको छ।
क्षमतासँगै समग्रमा क्षमता उपयोग पनि बढेको छ।
औद्योगिक क्षमता भन्नाले कुनै पनि उद्योगहरुको कूल क्षमता हो। त्यो क्षमताको तुलनामा भएको उत्पादनलाई क्षमता उपयोग भनिन्छ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार निर्माणजन्य उद्योगको क्षमतामा ब्यापक बढोत्तरी भएको छ।
सिमेन्टको क्षमता नेपालभर १४ लाख ९६ हजार ५० मेट्रिकटन पुगेको छ। यस्तो क्षमता अघिल्लो वर्ष ९ लाख ३१ हजार मेट्रिकटनमात्र थियो।
त्यस्तै फलामको रडको क्षमता पनि बृद्धि भएको छ। अघिल्लो वर्ष २ लाख ७१ हजार मेट्रिकटन भएको क्षमता बढेर ४ लाख पुगेको छ। इटाको उत्पादन क्षमता पनि करिब सतप्रतिशतले बढेको छ।
साबुन उद्योहरुको क्षमता पनि बढेको छ। ९ हजार मेट्रिकटनबाट बढेर साबुन उत्पादनको क्षमता २९ हजार मेट्रिकटन पुगेको छ। गार्मेन्टको २ लाख १३ हजार थानबाट बढेर ६ लाख थान पुगेको छ।
त्यस्तै मदिरा जन्य उद्योगको क्षमतामा पनि सुधार आएको छ।
राष्ट्र बैंकका अनुसार मदिराको उत्पादन क्षमता २९ प्रतिशतले बढेको छ भने बियरको १२ प्रतिशतले बढेको छ। मदिरा र बियरको उत्पादन पनि बढेको छ। कूल क्षमताको मदिरा ७७ प्रतिशत उत्पादन भइरहेको छ भने बियर ८९ प्रतिशत।
उत्पादनका हिसाबले मदिराको उत्पादन गएको वर्ष १३० प्रतिशतले बढेको थियो। बियरको १९ प्रतिशतले बढेको थियो। सिन्थेटिक कपडाको उत्पादन घटेको वर्ष धागो उत्पादन भने ४८ प्रतिशतले बढेको थियो।