यस आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १०. ३ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार तीन महिनामा कुल ३ खर्ब ३४ अर्बको बस्तु आयात भएको छ।
भारतबाट हुने आयात १२. २ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात १९. १ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात भने ११. ६ प्रतिशतले बढेको छ।
पाम तेल, हटरोल सिट, मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय उपकरण तथा सोलार प्यानल लगायत बस्तुको आयात बढेको छ। हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपूर्जाको आयात घटेको छ।
आयात घट्दा निर्यात भने १४. ४ प्रतिशतले बढेको छ। तीन महिनामा कुल २७ अर्ब १७ करोडको बस्तु निर्यात भएको छ। गत वर्ष यस अवधिमा १६ प्रतिशतले बढेको निर्यात अहिले १४ मा खुम्चिएको हो।
प्रमुख निर्यात हुने बस्तुहरुमा पाम ओयल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो लगायत परेका छन्। गन्तव्यका आधारमा भारततर्फ हुने निर्यात ३५. ८ प्रतिशतले बढेको छ।
आयात र निर्यातका आधारमा मुलुकको तीन महिनाको व्यापार घाटा ३ खर्ब ७ अर्ब छ। गत वर्षको यस अवधिको तुलनामा व्यापार घाटा १२ प्रतिशतले घटेको हो।
मुलुकको व्यापार घाटा घटेसँगै भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचतमा आएको छ। राष्ट्र बैंकका अनुसार तीन महिनाको भुक्तानी सन्तुलन १४ अर्ब ४३ करोड बचतमा छ।
यसको अर्थ मुलुकबाट बाहिरिने रकमभन्दा भित्रिने रकम १४ अर्ब ४३ करोड बढी छ। अघिल्लो वर्षको यस अवधिमा भुक्तानी सन्तुलन ३५ अर्ब ४२ करोड घाटामा थियो।
तीन महिनामा प्रत्येक्ष वैदेशिक लगानी ४ अर्ब भित्रिएको छ। पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड छ। गत वर्षको यस अवधिमा यस्तो रकम ३ अर्ब ५५ करोड थियो।
समीक्षा अवधिमा चालु खाता घाटा २७ अर्ब १८ करोड छ। अघिल्लो वर्ष यस अवधिमा ८१ अर्ब ७४ करोड थियो। मुलुकको विदेशी विनिमय सञ्चितीमा सुधार आएको छ।
तीन महिनामा यस्तो सञ्चिती ४. ७ प्रतिशतले बढेर १० खर्ब ८७ अर्ब पुगेको छ। यो सञ्चितीले ९. ८ महिनाको धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।