प्रमुख नगदेबाली अलैँचीको निर्यात बढ्दै गएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार अलैंचीको निर्यात बढ्दै गएको हो।
केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनामा १९ लाख १३ हजार ५ सय ५७ किलो अलैंची विभिन्न देशमा निर्यात भएको छ। सो अलैंची निर्यातबाट १ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको छ।
निर्यात भएको यो परिणाम गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। अलैंचीको उत्पादन बढेसँगै निर्यात पनि बढेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए।
‘अहिले उत्पादन पनि बढेको छ। गत वर्षको स्टक अलैंची साउन भदौमा बढी गएकाले पनि बढेको देखिएको हो’, उनले भने।
गत वर्ष साउनदेखि कात्तिकसम्म ९६ करोड ७३ लाख रूपैयाँ बराबरको ११ लाख ७७ हजार २ सय १७ किलो अलैंची निर्यात भएको तथ्याङ्क छ।
नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्याङ्कले देखाएको छ।
त्यसैगरि अदुवा निर्यात भने घट्दै गएको छ। साउनदेखि कात्तिकसम्ममा ३४ लाख ८२ हजार किलाे अदुवा विभिन्न देशमा निर्यात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा आधाले कमी हो। गत साउनदेखि कात्तिकसम्मा ६७ लाख ८४ हजार किलो अदुवा निर्यात भएको थियाे।
नेपाली अदुवाले मूल्य नपाएकाले निर्यातमा कमी आएको कृषि प्रशोधन प्रालिका अध्यक्ष पदम प्रसाद पौडेलले बताए।
‘हाम्रो अदुवाको मूख्य बजार भनेको भारत हो। भारतमै अहिले अदुवा उत्पादन हुन थालिसक्यो। त्यहाँको बजारसँग प्रतिष्पर्धा गर्न नसकेकाले नेपाली अदुवा निर्यात हुन सकेको छैन’, उनले भने।
चालू आवको पहिलो चार महिनामा चिया निर्यात पनि घटेको छ। साउनदेखि कात्तिकसम्ममा ४४ लाख ६ हजार किलो चिया निर्यात भएको छ। चिया निर्यातबाट यस अवधिमा १ अर्ब १६ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको साेही अवधिमा १ अर्ब ५५ करोड भित्रिएको थियो।
गत वर्ष सोही अवधिमा ८० लाख ७१ हजार किलो चिया निर्यात भएको तथ्याङ्कले देखाएको छ। यो परिणाम गत वर्षको तुलनमा ४५ प्रतिशले कमी हो।
नेपालको चिया विभिन्न ३९ मुलुकमा जाने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी नेपाली चियाको बजार भारतले लिएको छ। ४२ लाख किलो चिया भारतमा निर्यात भएको छ।