आर्थिक वर्ष २०७५/७६ मा विद्युत उत्पादन गर्न स्वदेशी लगानीका ४५ कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।
उद्योग विभागको तथ्याङक अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका यी उद्योगले १५५२.१९ मेगावाट विद्युत उत्पादन गर्नेछन् । जसका लागि २ खर्ब ९ अर्ब ५३ करोड भन्दा बढी लागत अनुमान गरिएको छ ।
उद्योगहरुबाट २ हजार ३ सय १५ थप रोजगारी सृजना हुनेछन् ।
यसमा सौर्य उर्जा उत्पादन गर्ने कम्पनीहरु पनि छन् । ४९.४ मेगावाट सौर्य उर्जा उत्पाद गर्न ६ कम्पनी विभागमा दर्ता भएका छन् । सौर्य उर्जा उत्पादनको लागि ३ अर्ब ८४ करोड लगानी गर्ने विभागको तथ्याङकमा उल्लेख छ ।
तर, पछिल्लो वर्ष उर्जा क्षेत्रमा भएको लगानी भने घटेको छ ।
विभागको तथ्याङक अनुसार गत आर्थिक वर्षमा २३ अर्ब ५१ करोड ३० लाखले उर्जा क्षेत्रको लगानी घटेको हो ।
गत वर्ष २ खर्ब १० अर्ब ४० करोड लगानीका ४५ विद्युत कम्पनी सहित ४७ उर्जा क्षेत्रमासँग सम्बन्धीत उद्योग दर्ता भएका छन् । तर, अघिल्लो वर्ष सोहि अवधिमा २ खर्ब ३३ अर्ब ९१ करोडका ३९ उद्योग उर्जा क्षेत्रमा दर्ता भएका थिए ।
लगानी घटेपनि उद्योगको लगानीले रोजगारी भने बढाउने तथ्याङकले देखाएको छ । गत अर्थिक वर्षमा २ हजार ५ सय ९६ जनाले काम पाएका उर्जा क्षेत्रका उद्योगमा यो वर्ष २ हजार ८ सय ११ जनाले काम पाउने भएका हुन् ।
गत आर्थिक वर्षमा उर्जा क्षेत्रमा कुनै पनि विदेशी लगानी परेको छैन । अघिल्लो आर्थिक वर्षमा ५ आयोजनाको लागि ३७ अर्ब ८९ करोड विदेशी लगानी आएको थियो ।