कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरूले बताएका छन्।
नेपाल कवाडी मजदूर व्यवसायी संघको वार्षिक साधारणसभामा बोल्दै कवाडी व्यवसायीहरूले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरूले नमान्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरू पलायन हुने र लाखौको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव दिए।
उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरे।
संघका सचिव शुक्रबहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरूले स्वरोजगार र राज्यलाई कर तिरिरहेकोले राज्यले उचित सम्मान गर्नुपर्ने बताए।
व्यवसायीहरू एकजुट हुन नसक्दा काम गर्न असहज भइरहेको बताउँदै उनले नेपाल सरकार स्थानीय तहको नीति तथा कार्यक्रमले कवाडी व्यवसायीहरूलाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि दबाब दिने पनि बताए।
आफ्ना माग र गरिखाने वातावरण बनाउने विषयमा सम्बन्धित निकायले ध्यान नदिएमा आन्दोलन गर्न पनि संघ तयार रहेको भन्दै उनले व्यवसायीलाई साथ र सहयोग गर्न आग्रह गरे।
कवाडी व्यवसायीहरूको हितको लागि आफू लागिपरेको बताउँदै उनले आगामी दिनमा आफ्नो भूमिका अझ सशक्त बनाउने बताए।
संघको काठमाडौं जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरू साना व्यवसायी भएकोले सरकारले सोही अनुसार व्यवहार गर्नुपर्ने बताए।