वर्षमा ८० करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरुले तिर्ने कर यो वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ। ठूला करदाता कार्यालयका अनुसार चालु वर्षको पहिलो तीन महिनामा यस्तो कर अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेको हो।
अधिकांस क्षेत्रका कम्पनी तथा फर्मको कारोबार घटिरहेको देखिएपनि समग्रमा कर भने १४ प्रतिशतले बढेको हो। यद्यपी सरकारले तोकेको लक्ष्यको तुलनामा यो न्यून हो। तीन महिनामा उठाउने भनिएको लक्ष्यको तुलनामा यो २० प्रतिशत न्यून हो।
लक्ष्यसँग तुलना गर्ने समय नआएकाले अहिलेको बृद्धिदर राम्रै देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारी बताउछन्।
कार्यालयमा वर्षभर ८० करोड बढीको कारोबार गर्ने ६ सय ८१ करदाता सूचीकृत रहेका छन्।
करको शिर्षकको आधारमाा यो वर्षको पहिलव त्राइमासमा आयकर २७ र मूल्यअभिबृद्धिकर १४ प्रतिशतले बढेको छ। क्षेत्रगत हिसाबले सबैभन्दा ट्रेडिङको ३८ प्रतिशतले बढेको छ भने बैंक तथा बित्तीय संस्थाको २७ प्रतिशतले बढेको छ।
त्यस्तै दूरसञ्चार क्षेत्र तर्फ ५.२ प्रतिशतले कर घटेको छ।
सरकारले यो वर्ष असार मसान्तसम्म यी ६ सय ८१ करदाताबाट २ खर्ब ३३ अर्ब कर उठाउने लक्ष्य लिएको छ।
पहिलो ३ महिनामा १० अर्बको अन्तर देखिएपनि अबको केही समयमा नै दूरसञ्चार सेवाप्रादयकले २२ अर्ब ४४ करोड कर तिर्नुपर्ने छ। कर कार्यालयले एनसेललाई सो कर निर्धारणको पत्र बुझाइसकेको छ।
चालु वर्षको पहिलो ६ महिनासम्म पुग्दा कार्यालयले लक्ष्य भेट्टाउने सम्भावना भने छ। पुसमा आयकरको ४० प्रतिशत कर बुझाउने भएकाले पनि सोही समयमा करको आँकडा ठूलो आउन सक्छ।
यद्यपी ठूला उद्योगहरुको कारोबार निरन्तर ओरालो लागिरहेकाले लक्ष्य चुनौतिपूर्ण रहेको कर प्रशासकहरुको भनाइ छ।