छोरा जन्मेको दुई महिना भयो, रातभरि रोएर झिमिक्क सुत्न दिँदैन। डाक्टरले अब सेटल हुन्छ भनेर सान्त्वना त दिन्छ। तर, खै आफूलाई भने साह्रै गाह्रो भैसक्यो, निरा मनमनै सोच्छे, म त हैरान भैसकेँ।
त्यसमाथि झन् दुई चार दिन भयो, भित्र देखि नै सन्चो नभए जस्तो भएको। जिउ जम्मै कर कर खाए जस्तो, खै के भाको आफैंलाई थाहा छैन। डाक्टरलाई जचाउन जाउँ कि जस्तो पनि लागेको थियो फेरि डाक्टरको क्लिनिकमा कुर्नपर्ने सम्झेर होस् भन्दै पेनकिलर खाएर बसेँ’, एक पटक डाक्टरलाई देखाउनै पर्थ्यो कि? उसलाई मनमा लाग्छ।
विदेशको ठाउँ, घरमा सघाइदिने कोही नहुँदा बच्चा जन्मेको हप्ता दिनमै आफ्नो दैनिक काममा आफैं जुट्नुपर्ने। हुन त निराका श्रीमान विकासले पनि दुई साता छुट्टी नलिएका होइनन्। तर, उनको छुट्टीको एक साता छुट्टी निरा हस्पिटलमा बस्दा नै बित्यो, अर्को एक हप्ता पत्तो नपाइ हुँईकियो।
अप्रेसन गरेर बच्चा जन्माउन त निकै सजिलो भएको थियो निरालाई। तर, काटेको ठाउँमा पछिसम्म रहिरहेको पीडाले भने दिक्क बनाईसक्यो। ‘काटेको ठाउँमा अझै पनि चस चस दुख्छ’, आफ्नो दुखेको पेट सुम्सुमाउँदै ऊ भन्छे, ‘अब त दुख्दा दुख्दा यस्तो बानिभएछ कि, कुनै दिन दुखेन भने त उल्टो केही भएछ कि जस्तो लाग्ने।’
एकातिर रातभरि छोराको रूवाइले गाह्रो भइराखेको, अर्को तिर आफ्नो मात्रै होइन विकासको पनि निन्द्रा चौपट। बच्चा जन्मिए पछि त जीवनको रूटिनदेखि लिएर सबै कुरा चौपट भएजस्तो।
बिहान उठेर अफिस जानुपर्ने विकास, रातभरी निदाउन नपाउँदा बिहान उठेर सधै ढुस्स फुलिराखेको हुने। विकासको सधैको मुड खराब, निरालाई आफ्नो पीडा उसलाई सुनाउने मौकै मिल्दैनथ्यो। कहिलेकाँही यसो सुनाइहाल्दा पनि विकासले केही वास्तै नगरे झैँ लाग्दा, छाति भित्र भित्रै कटक्क दुखेर आउथ्यो उसको। धेरै जसो त यस्तै हो उसको बानी भनेर ऊ चित्त बुझाउँथी। तर, कहिले काहिँ भने साह्रै नराम्रो लागेर आउँथ्यो, कति त उ एक्लै बसेर रुन्थी पनि।
विकासको सधै कालो मुख देखेर, होस अब छोरा सेटल नहुन्जेल अर्को कोठातिर छोरा लिएर जानुपर्यो भन्ने सोच्दै ऊ विकासलाई भन्छे, ‘म अर्को कोठामा छोरा लिएर सुत्छु आजदेखि, तिमीले राति राम्ररी सुत्न पाएनौ।’
'मेरो मनकै कुरा भन्यौ तिमीले,' उसले भन्छ, ‘तिमी त दिउँसोभरि सुत्न पाइहाल्छ्यौ नि, राति नसुते पनि। मलाई त काममा असाध्य नै गाह्रो भइसक्यो।'
निरा एकछिन त अकमक्क पर्छे। तर, केही बोल्दिन। बोलेर पनि के गर्ने? बोल्यो कि पोल्यो भने झैँ बोल्यो कि झगडा हुन्छ, ऊ मनमनै भन्छे, ‘हुन त गाह्रो पनि भयो होला विचरालाई। दिउँसोभरी काम गर्न पर्ने मानिस निन्द्रा नपुगे पछि त काममा फोकस गर्न गाह्रो भइहाल्छ नि, ठिकै हो कुरा।’ तर तिमी दिउँसोभरि सुत्न पाईहल्छौ नि भनेको सुन्दा कता कता नमजा लाग्छ। कसरी म दिउँसो भरि सुत्न पाउँछु? निरा सोच्न थाल्छे।
छोराको सुताई चराको जस्तो छ। प्रत्येक एक एक घन्टामा दुध खान उठ्छ। अनि उठेपछि फेरि सुताउन अर्को एक घण्टा। मेरो दिन त उसको दुध बनाउने, खुवाउने र न्यापी फेर्नेमा नै जान्छ, अनि बचेखुचेको समयमा अरू कामहरू- छोरालाई नुहाई धुवाई, तेल मसाज, उसका फोहर लुगाहरु धुने सुकाउने उठाउने, बिहानको र बेलुकाको खान बनाउनु, विकासको अफिस लैजाने खाजा बनाउनु, उसको अफिस जाने लुगामा स्त्री गर्नु, घर सफा गर्नु, सुत्ने समयको त कल्पना पनि गर्न सक्दिन। ओहो उसले कुन समय देखेछ मैले सुत्ने? उ मनमनै भन्छे।
'अँ' उसले भन्छे, ‘दिउँसो सुत्न पाए त राम्रो हुन्थ्यो।'
'किन नपाउनू? समय म्यानेज गर्न जान्नुपर्छ, जति पनि सुत्ने समय निस्किन्छ।'
उसको कुरो सुन्दा झनक्क रिस पनि उठ्छ निरालाई, मुखमा जवाफ पनि आइसकेको थियो तर उता छोराको च्याँ ले ऊ दौडदै अर्को कोठा तिर पुग्छे।
'खै त मेरो खाजा, रेडी गरेको छैन?' विकास उताबाट कराउँछ।
'एकैछिन्, बाबु सुताएर बनाउँछु', उसले भन्छे।
'हिजो बेलुकी बनाएनौ? भो पर्दैन बनाउन,' उ रन्थनिदै खाजै नली अफिस हिँड्यो।
निरा रूदै गरेको बच्चालाई यत्तिकै छोडेर दौड्दै ढोका तिर पुग्छे।
'पर्ख न एकछिन, पाँच मिनेटमा बनाई हाल्छु नि,' उसले भनि।
'भो पर्दैन' विकासको आँखामा रिसको ज्वाला दन्कीरहेको थियो, 'समय म्यानेज गर्न जाने पो हुन्छ।'
निरा छक्क पर्छे, अनि लाग्छ उसलाई कसरी रैछ समय म्यानेज गर्ने भनेर। एक छिन पनि त बसेको छैन म, ऊ विचार गर्छे। सधै बेलुकी नै उसको लागि खाजा बनाउने गरेको थिएँ, हिजो सन्चो नभएकोले अलि चाडै सुत्न गएँ। बिहान चाडै उठेर बनाउँला भनेको, बिहानीपख अलि भुसुक्क भएर निदाएछु, छोरा पनि निदाएकाले। मैले समय म्यानेज गर्न नसकेर नबनाएको कहाँ हो र? विकास रन्थनिएर गएकोले नमजा लाग्यो उसलाई। दिउँसभरि निरालाई पनि केही खान मन लागेन, खल्लो मात्रै लागिरह्यो।
पत्तै नपाई दिन बितिसकेछ। बेलुकी विकास चुक घोप्टिएको जस्तो कालो अनुहार लगाएर घर छिर्यो, निराले बुझिसकेकी थिई कि उसको रिस मरेको छैन भनेर। अब कति दिनलाई यस्तै हो, झन दिक्क लागेर आउँछ निरालाई। ‘एकातिर आफैलाई राम्ररी सन्चो छैन, अर्को तिर छोराले दुःख दिन्छ अब त्यसमाथि विकासले दिने मानसिक तनाव। डिप्रेसन त मलाई हुनुपर्ने। तर, मेरो साटो त्यो पनि उसैलाई भए जस्तो छ,’ ऊ दिक्क मानेर टाउको हल्लाउँदै भन्छे।
‘छोरा जन्मेदेखि कहिल्यै उज्यालो मुख हेर्न पाएकै छैन विकासको, त्यसैले आफ्नो बिलौना पोख्ने कुनै ठाउँनै भएँन। चुपचाप एक्लै, आफैं घडीको सुईसँगै दौडीराख्छु म। कहिले आफैसँग रून्छु, कहिले आफैंलाई बिलौना गर्छु। कैले यस्तै हो भन्दै मन बुझाउँछु, आफ्नो आँसु आफैंलाई मात्रै देखाउँछु। तनको पीडा त पेन किलर खाएर मेटिन्छ मनको पीडा मेट्ने पनि त्यस्तै केही भइदे हुन्थ्यो’, ऊ आफैंसँग बिलौना गर्छे।
हिजो दिउँसो मिडवाईफ घर आएकी थिई। सुत्केरी भएपछि स्वास्नी मानिसलाई पोस्ट नेटल डिप्रेसन हुन्छ भेनेर घरमा बेलाबेलामा मिडवाइफ़ आएर हर प्रकारका प्रस्नहरु सोध्ने, सहानुभूति र माया देखाउने अनि परेमा सहयोगको पनि गर्ने चलन छ यहाँ। श्रीमानले कतिको सहयोग गर्छ, कती माया र साहनुभूती देखाउँछ, मनमा बेलाबेलामा नैरास्यता उत्पन्न हुन्छ कि? कतै आफूलाई या बच्चालाई नोक्सानी गर्ने सोचाइ आउँछ कि, घरमा सहयोगको हात कति छन् आदि ईत्यादि प्रस्न गर्छे ऊ।
अनि निरा सोच्छे, वास्तवमा आफ्नो परिवारको मानिसलाई भन्दा पनि यो देसको सरकारलाई मेरो माया छ। यिनीहरूले बरू मेरो बढी हेरचाह गर्छन् भने जस्तो। मिडवाईफलाई केही भन्यो भने अर्थात आफ्नो समस्या देखायो भने यिनीहरुले तुरून्तै त्यसको समाधान खोज्छन्। तर, के गर्नु मनको बह कसैलाई नकह भन्ने हाम्रो भनाई छ। जति मन दुःखे पनि, जति गाह्रो भए पनि मिडवाईफलाई के भन्ने? निरा सब मनको बिलौना लुकाएर मिडवाईफलाई सब ठिक भएको नाटक गर्छे।
विकास आएको थाहा पाउने बित्तिकै हत्त न पत्त टेबलमा खाना तयार गर्छे निरा, ऊ भोकायो होला भनेर। आफ्नो गल्तीले गर्दा विकासले खाजा पनि लिएर जान नपाएको सम्झेर मन चस्स हुन्छ।
विकास एकै चोटी सुत्ने कोठामा गएर ढोका जोडले बन्द गर्छ, निरालाई थाहा भयो ऊ रिसाएको छ भनेर। ऊ हतारिँदै कोठामा जान्छे, 'आउ खान, मैले तिम्रो मनपर्ने तरकारी पकाएको छु आज,' केहि नबुझे झैँ गरि भन्छे ऊ।
'मलाई भोक छैन, म खान्नँ’, भन्दै उ अर्को तिर फर्किन्छ।
'तिमि रिसाएको? सरि गल्ति भयो, अबदेखि म जसरि पनि बेलुकी नै बनाएर राख्छु तिम्रो खाजा। अब नरिसाउ। आउ अब खान, मैले सरि भने,' ऊ फेरि बोलाउँछे।
'म संग धेरै किचकिच नगर, म जतिखेर खान मन लाग्छ, खान्छु, तिमीले चिन्ता गर्न पर्दैन।'
निराको मन भित्र रिसको ज्वालामुखी फुट्छ, चित्त पनि दुख्छ। तर, धैर्य गरेर त्यसलाई बाहिर आउँन दिदिन। आँखाभरि आँसु लिदै ऊ कोठाबाट बाहिर निस्किन्छे अनि सोच्छे, ‘त्यत्रो ठूलो रिस देखाउनपर्ने गल्ति पनि त गरेको थिईनँ। एक दिन खाजा हाल्न ढिलो हुँदा यत्रो रिस?! मैले यत्रो दिनसम्म सधै खाजा हालेको केही महत्व नै रहेन, साह्रै दिक्क लाग्छ उसलाई।
अर्को तिर विकासले केही नखाई सुत्न लागेको देख्दा मनमा झन पिर बढ्छ। सोच्छे दिउँसो केहि खायो होला कि खाएन। ऊ फेरि उसलाई फकाउन जान्छे। धन्न, यसपटक चाहि अरुबेला भन्दा अलि चाडै फक्कियो विकास र खाना खान आयो।
अनि गम गम खाना खाएर ऊ सुत्न पनि गयो। यता निरा भने भोक्कै थिई, उ सँगै खान्छु भनेर दिउँसोदेखि केही नखाई बसिराखेकि। विकासले एक बचन निराले खाई खाईन केही सोधेन। निराको आँखाबाट आफैं तर्रर आँसु झरे अनि सुके पनि, ऊ खादै नखाई सुत्न गई।
निरा ६ महिनाको सुत्केरी बिदामा छे। सुत्केरी भएदेखि उसको दिन चर्या एउटै छ, थकाइले लोत हुन्छे। ऊ प्रत्येक दिन। जब दिनमा धेरै थाक्छे अनि सोच्छे राति मजाले सुतेर थकाई मेटाउँछु। तर, जब रात पर्छ छोराको कोलाहालले सुत्ने भन्ने कुरा त्यस्तै हुन्छ। फेरि बिहान उठ्दा उही गलेको शरीर र ओझेल परेको आँखा। अत्यास लाग्छ उसलाई यो सानो बालकलाई हुर्काएर आनन्दसँग सुत्न पाउने दिनको दूरी सम्झँदा।
बेग्लाबेग्लै कोठामा सुतेदेखि विकासले उसलाई एकपटक पनि छोराले सुत्न दिन्छ दिँदैन भनेर सोधेको हैन। उसको बानीसँग परिचित हुँदाहुँदै पनि मनमा दुःख किन लागेर आउँछ, ऊ बुझ्न सक्दिनँ। विधिको बिडम्बना पनि कस्तो छ फेरि, ऊ भन्ठान्छे, रगतको नाता कति दरिलो हुने।
रातदिन ऊ ज्यान दिएर छोराको स्याहार सुसार गर्छे तर बेलुकी बाउलाई देखेपछि हात खुट्टा फालेर गिजा देखाउँदै गदगद हुन्छ छोरो। मसँग पनि गनगन नगरेर यसैगरी दिउँसभरि गदगद भएर हाँसेर बस्दिने भैदिएको भए पो भने झैँ लाग्छ उसलाई।
यस्तै मानसिक तनाबका उतार चडाबसँग कुस्ती गर्दै ४ महिना पत्तै नभै बितिसकेछ। ४ महिना बितिसक्दा पनि छोराको सुत्ने खाने चालामा केहि परिवर्तन आएको छैन। उही चुसुक्क दुध खाने छिन छिनमा उठ्ने र रूने उसको नियमित रूटिन छ। ‘धन्न मैले यी सबै आमा बनेर भोगेका कस्टहरुलाई जीवनको एउटा पाटो मानेर स्वीकार गरेकोछु र त मैले डिप्रेसनलाई पनि पेलिदिएँ, ऊ आफूसँग गर्वित हुन्छे। उसलाई लाग्छ ऊ गर्भवती भएदेखि उसको सट्टा उसको श्रीमानको हर्मन लेवेलचाहिँ फ्लक्चुयेट भैराखेको छ।
उसको मुड बुझ्नै नसक्ने गरेर तलमाथि भैरहेको देख्दा निरालाई अचम्म लाग्छ। आफ्नो शरीरमा यत्रो परिवर्तन आएको बेला श्रीमानको माया प्रेम सद्भावना पाउनुको सट्टा उल्टो श्रीमानको नै हर तरिकाले सोच बिचार गर्नु पर्ने, विधिको बिडम्बना पनि कस्तो भने झैँ लाग्छ उसलाई। गर्भवती अवस्था पनि विकासलाई कसरी रिस नउठाउने भन्ने शोशिश गर्दा गर्दै बित्यो, ऊ सोच्छे।
आफ्नो पीडा, बेदना त कसलाई पोख्ने? त्यै पनि उसको अनुहारमा कहिले एक झल्को खुशी देख्न पाउँदा, दिन भरकै पीडा सबै हराउँछ। तर, जतिखेर पनि ऊ रिसाउँछ कि भनेर सोचीराख्नु पर्दा, थाहै नपाई जीवन यस्तो स्ट्रेस्फूल भैसकेछ कि स्ट्रेस पनि जीवनको एउटा अभिन्न अंग जस्तै लाग्न थालिसकेछ, निरालाई।
अनि ऊ सोच्छे- अब त ब्रेन पनि यसरी ट्रेन भैसक्यो कि जीवनसाथी हुनुपर्ने मानिससँग पनि जतिखेर डर मात्रै लागिरहने- कैले रिसाउँला भन्ने डर त कैले अरु मानिसको अगाडि नराम्रोसँग भन्ला भन्ने डर।
अब आफ्नो कोठामा एक्लै ढलिमली गरेर रातको पुरा निन्द्रा सुतेपछि त विकासको मुड राम्रो होला भनेको त्यसमा पनि कुनै परिवर्तन छैन। लोग्ने मानिसको हजारौं चाहना हुन्छ, बेग्लाबेग्लै सुतेकोले उसका आवश्यकता पूर्ति नभएर यस्तो भएको हो कि भने झैँ पनि लाग्छ निरालाई।
त्यसैले छोरा सुतेको मौका पारि बेलाबेलामा ऊ उसको कोठामा पनि जान्छे। तर, उसको कुनै प्रयास पनि विकासको लागि पर्याप्त थिएन। निराले जे गरे पनि जति गरे पनि त्यो सधै कमै थियो। दुःख लाग्छ उसलाई, मनभरी पीडा यसरि बढ्छ कि, सहने हौसला पनि आफैं मरेर आउँछ अनि फेरि नाबालक छोराको अनुहार हेर्दै ऊ सबै पीडा भूलिदिन्छे।
आज महिनाको अन्तिम शनिबार, निरालाई याद पनि थिएँन कि आज पार्कमा पिकनिक छ भनेर। हतार हतार गरेर एउटा खाना बनाई उनीहरु पार्क तिर लाग्छन्। यो पिकनिक धेरै समय अगाडिदेखि नियमित रुपमा महिनाको अन्तिम शनिबार हुने गरेको भए पनि निरा पहिलो पटक यस पिकनिकमा सामेल भएकी थिई।
निकै मानिसहरु आउँछन् यस पिकनिकमा- केही परिचित, केही अपरिचित।
त्यही मानिसहरुको भीडमा एउटा सानो बच्चा बोकेर उभिरहेको छ कमल, विकासको टाढाको भाई पर्ने। धेरै भएको थियो उनीहरूसँग भेट नभएको पनि। सायद कमलको बिहे पछिको यो पहिलो भेट होला। झन्डै ३ वर्ष नै हुन लागि सकेछ कमलको बिहे भएको पनि। निरा र विकासलाई देखे पछि कमल खुसी हुँदै उनीहरु भएको ठाउँमा आउँछ।
'ओहो, कस्तो अचम्मसँग भेट भयो हजुरहरुसँग, आशै नगरेको कुरा,' उ खुशी हुँदै भन्छ।
‘त्यै त मैले पनि एस्पेक्ट नै गरेको थिइनँ तिमीलाई यहाँ' विकासले भन्यो, 'तिम्रो पनि बच्चा यत्रो भैसकेछ। बच्चा हेर्न आउने भनेको आफ्नो बच्चा भयो, अनि सानो छ, दुःख दिएर केही गर्न दिँदैन। निस्किन पाएकै हैन’ विकास आफू बच्चा हेर्दा हेर्दा वाक्क भए झैँ सरा वृतान्त सुनाउँदै थियो कमललाई, अनि निरा चुपचाप सुनिरहन्छे।
'तिम्रो छोरा चाहिं कतिको भयो नि?' विकास सोध्छ।
‘८ महिनाको हुन लाग्यो दाजु,' उसले भन्यो।
केहीबेर बसेर यस्तै यस्तै कुरामात्र के भैराखेको थियो, कमलको श्रीमती सुधा कराउँदै आइपुगी। विकास र निरासँग एकैछिन कुरा गरेर उसले भन्न थाली 'तिम्ले यसको न्यापी चेन्ज गरिदियौ?'
'छैन, म एकै छिनमा गरिदिन्छु,' कमल भन्छ।
'कस्तो एकै छिनमा नि, गर्दी हालन, अघिदेखि भनेको। एउटा सानो काम गर्न पनि उसलाई त ‘एक छिन’ नभनी हुँदैन हेर्नु न दिदि?' ऊ निरालाई हेर्दै भन्छे। 'ल लिउ यो न्यापी, चेन्ज गर्दिहाल।'
कमल एकैछिन है दाजु म यति चेन्ज गरेर आउँछु भन्दै बच्चा लिएर हिँड्छ। सुधाचाहि उनिहरुसंगै बसेर गफ गर्न थाल्छे। निरा वाल्ल पर्छे। सोच्छे उसले त विकासलाई आजसम्म त्यसरी मान्छेको अगाडि काम अराएकी छैन।
'भरे तिमीहरु हाम्रोमा बस्नु,' विकास भन्छ, 'धेरै भयो यसो बसेर रमाइलो पनि गरेको छैन।'
'हस दाजु,' सुधाले एकै पल्टमा मान्छे।
पिकनिक पछि हामिसँगै कमलहरु पनि आए। घरमा सँगै बसियो। खाइयो। रमाइलो भयो। धेरै प्रकारका कुराहरु भए।
'यत्रो ८ महिनाको भैसक्यो र पनि बाबुले दुःख दिन छोडेको छैन’, भन्छे सुधा, 'रात भरि सुत्न दिँदैन, म त कमलसँग छोरा छोडेर राति अर्को कोठामा सुत्छु सधै।'
निरा छक्क पर्छे, सुधालाई त अफिस जान पनि पर्दैन त्यै पनि ऊ बच्चा कमललाई छोडेर अर्को कोठामा सुत्न जाने भने झैँ लाग्छ उसलाई। ऊ पुलुक्क विकासलाई हेर्छे, विकास कुराको सिलसिला बदल्न खोज्छ तर सुधा बोलेको बोल्यै गर्छे। 'कमल टाइम म्यानेज नै गर्न जान्दैन के', ऊ भन्छे। ‘उसका साथीहरुले कस्तो राम्रोसँग होम र फेमिली मेनेज गर्छन्, ऊ चाही के हो के। जैले पनि मिल्दैन, भ्याउँदीन भन्छ। दिक्क लाग्छ।’
मानिस कति कृतघ्न हुनसक्छ। यता आफ्नो जीवन, उता कमलको जीवन एकै लाग्छ निरालाई। पुरूष भएकोले कमल कसैलाई गुनासो गर्दैन। तर, उसको मनमा त्यही बेदना छ जुन मेरो मनमा छ, निरा कमलको असन्तुष्ट अनुहार हेरेर मन मनै अनुमान लगाउँछे। सबै पुरूषमा जस्तै उसमा पनि पुरुष्त्वको अहम छ, निराले त्यो बुझिसकेकिछ, त्यसैले हरेक कुरा आफ्नो रहरले गरेको भन्ने भान पार्न खोज्छ कमल। अनि आफू साह्रै खुशी र सुखी रहेको देखाउन खोज्छ। घर भित्र पसेदेखि कमल एकनासले बच्चाको साथै सुधाको हेरविचार गरिरहेछ। तर अझै पनि सुधामा उसको श्रीमान प्रति सन्तुष्टी छैन।
कमलले उनीहरुको लागि कति गरेको छ, सुधाको त्यसरी सोच्ने क्षमता नै नभए झैँ लाग्छ निरालाई, सुधाको एकनासको गनगन सुनेर। यहाँ पुरूष होस या नारी कसैको दिलमा पनि एक अर्काको लागि साँचो माया हुँदैन, निरा सोच्छे। दुबैको जीवन आफूमा सुरु हुन्छ अनि आफूमै अन्त्य। ‘इस्मल गेस्चार अफ लभ’ भन्छन् अंग्रेजीमा।
यी साना साना मायाका अभिब्यक्क्तिहरुले एक अर्काको जीवनमा कति ठूलो प्रभाव पर्छ भन्ने कुरा यस सम्बन्धको बन्धनमा जसले जित्छ उसलाई कैले महसुश हुँदैन। यहाँ जसले सक्छ उसले लुट्छ, जसले जित्छ उसले थिचोमिचो गर्छ। यहाँ दिने दिएको दियै हुन्छ, लिने लिएको लियै हुन्छ। कसैले सोच्दैन यहाँ मायामा लेनदेन हुन्छ। कसैले आफूलाई अर्कोको ठाउँमा राखेर हेर्दैन।
कसैले अर्काको पीडालाई महसुस गर्दैन। अंग्रेजीमा भन्छन् 'टेक इट फोर ग्रान्टेड'। यहाँ जसले जीवनमा माया पाउँछ उसले आफूले पाएका हरेक कुरा आफ्नो हक मानेर उपभोग गर्छ, निरा सोच्दै थिइ। 'हत्तेरिका, तिमीले छोराको सुत्दा लिने खेलौना घरमै छोडेर आयौ?' सुधाको ठूलो स्वरले निरा झसंग हुन्छे। 'केही काम पनि पक्का गर्दैन,'ऊ रिसाउँदै छोरा कमलको हातबाट खोसेर अर्को कोठामा जान्छे। कमल सुधा रिसाई भन्ने सोचेर पछि लाग्दै उसको कोठामा पस्छ। भित्रबाट सुधाको ठूलो ठूलो स्वरमा घुर्की फुर्की गरेको बाहिरसम्मै सुनिन्छ। त्यत्रो ठूलो कुरा के थियो र सुधालाई त्यसरी रिसाउनुपर्ने भने झैँ लाग्छ निरालाई।
निरा सोच्छे दुनियाँमा यस्ता स्वास्नी मानिसहरू पनि छन् जसले सुधाले पाएको एक अंश खुसी पनि पाएका छैनन् र पनि ती स्वास्नी मानिसहरु जिन्दगी खुसी मानेर दौडाइराखेका छन्। यहाँ सुधा? सबै कुरा पाउँदा पनि असन्तुष्टिले जलिराखेकिछ।
विचरा कमल, निरा मनमनै सोच्छे, यो त घर बाहिर, घर भित्र के हालत होला उसको। यहाँ सही गलत, ठिक बेठिक, असल खराब, राम्रो नराम्रो सबैकुरा सब्दमा मात्र सिमित हुन्छ। यहाँ त घर भित्र होस या घर बाहिर, सानो होस या ठूलो, राजनीतिमा होस या समाजको परिधि भित्र, यहाँ ‘जसको शक्ति उसैको भक्ति'।
अनि निरालाई लाग्छ, मलाई जस्तै कमललाई पनि बिना आफ्नो गल्ति नै आफूलाई दोषि बनाउने आदत लागिसकेछ। घरमा शान्ति कायम गर्न चुपचाप सहिदिने बानि लागे जस्तो छ उसलाई पनि’, यस्तै सोच्दै उ खिस्स हाँस्छे। ‘अचम्म छ दुनियाँ। यहाँ जसलाई माया गर्यो उसले नै टाउकोमा टेक्छ, उसले नै रूवाउँछ अनि सबैलेभन्दा बढी पीडा उसले नै दिन्छ।’ आफ्नो र कमलको जीवनको खिल्ली उडाउँदै निरा मन मनै हाँस्छे अनि सोच्छे-यहाँ नारीहरु मात्रै कहाँ हो र पुरुषहरु पनि पीडित छन्। कहीँ पुरूष पीडित त कहीँ नारी, कहीँ छैन समानता- यहाँ ‘जसको शक्ति उसैको भक्ति’