-
दराजको ह्यांगरमा
झुन्डिएको छ कोट
त्यो मेरो परिचय हो
मानौं कि-
वर्षौंदेखि म बनेको छु पुस्तक र,
ऊ बनेको छ त्यसको आवरण
हामी दुवै एक भएर बाँचेका छौं सँगै
जब म निस्किन्छु कोठाबाट सहरको यात्रा
कोट पनि फर्फराउँदै मेरै बुइ चढेर
मैसँग डुलिरहेको हुन्छ सहर
हामी सँगसँगै हेरिरहेका हुन्छौं - सहरको तमासा
हामी सँगसँगै हेरिरहेका हुन्छौं - मानिसका टिठ लाग्दो अनुहार
थाहा छैन मलाई
कोट मेरो हो या म कोटको खुट्टा हिँडिरहेछु ?
कहिलेकाहीँ म मृत्यु चिन्तन गर्छु
मेरो कोट केबल मुस्कुराएझैं गर्छ
नि:शब्द मुखझैं बनिदिन्छ चुपचाप।
मलाई थाहा छैन
मेरो कोटले कत्तिको गर्छ मृत्युचिन्तन ?
उसले कत्तिको बुझ्छ जीवनको दर्शन ?
तर चुपचाप एकनाससँग हिँडिरहन्छ ऊ मेरै यात्रा
कोटलाई थाहा छ कि छैन
म कोटलाई मभन्दा बढी गर्छु उसको माया
जतनले राख्छु दराजको ह्यांगरमा
बरु म
बसिदिन्छु थ्याच्च फलैँचा वा भुइँको सुकुलमा।
हरबखत -
उसलाई राखेकै हुन्छु ह्यांगरमा सजाएर - प्रेमपूर्वक
यात्रामा धेरैचोटि
मैले सोचेको छु मेरो कोट र आफ्नो अस्तित्व
कोटले मलाई हिँडाएको हो कि म कोटलाई हिँडाइरहेछु ?
मेरा शुभचिन्तन र आफन्तहरूमा
परिचित छ- मेरो कोट
मेरा सबै औपचारिक समारोहमा उपस्थित छ -
मेरो कोट
फुर्सद भयो कि
दराजको ह्यांगरमा झुन्डिएको मेरो कोट हेरेर
म सोचिरहन्छु
कतै कोट हराए म दुखाउँला मन
रहुँला केही समय हतास र उदास
तर हराएँ यदि म स्वयं
कोटले दुखाउने मन कोटसँग होला या नहोला ?