आज फेरि गणतन्त्रको
मुखौटा लगाएर,
कसले चर्को चर्को स्वरमा भाषण गर्दै छ,
सायद त्यसैले हो,
जसले जनताको मुखमा लगाउन चाहन्छ बिर्को,
माग्ने गर्छ हरेक चुनावमा भोट,
सुनाउँछ नयाँ पद्धतिको लामो घोषणापत्र
तर
जसरी चुनावपछि
नेताको गोजीबाट हराएको छ विचार।
भएको छ घोषणापत्र थोत्रो
पुरानो दराजको चाङ।
सत्ता जनतालाई सुम्पिने
भनेर हिँडेका टाउकाहरू
कसको लागि गर्दै छन्
कुर्सीको तानातान ?
किन गएर तान्न सक्दैनन्
दशगजामा हराएको देशको टुक्रा
किन पुग्दैनन फेरि ती जनताकै झुपडी ?
किन सोध्दैनन् जनताको खबर ?
घरको धुरीबाट हेर्दा
किन देखिन्छ शासन
धेरै टाढा र मधुरो ?
हो तिनैले लगाउँदै छ चर्को भाषण,
भन्दै छ फेरि कानले मात्र सुन त्यो भाषण
र उडाउ दिमागको मैदानबाट
जसरी उडेको छ
देशको राजधानीमा सासै फेर्न नमिल्ने गरी
राजनीतिको धुलो
र फेरि
गणतन्त्र आएको छ,
बनेर एउटा कमसल मुखौटा,
तर फुकेर वर्षौसम्म त्यही गणतन्त्रको बिगुल,
किन उसैले गराउन सक्दैन संस्थागत अभ्यास,
किन सम्झिन सक्दैन शहीदको आहुती?
किन सुन्न छाडेको छ सरकारले
जनयुद्धका चिच्याहट
किन संसद भवन पुगेपछि बिर्सिन्छ
उसको जुत्ताले कुल्चिएको रगतको खोला
किन ढाक्न खोज्छ टल्कने पालिसले
उसको फित्ते चप्पलको इतिहास ?
मिडियाको बहसमा किन फेरि जुर्मुराएको छ
अभिव्यक्ति स्वतन्त्रतामाथि गणतन्त्रको मुखौटाले लगाएको अंकुश ?
किन देशको कुनै एउटा हर्कबहादुरले
खुलामञ्चमा उभिएर
कोर्न सक्दैन उसले देखेको
देशको दर्दनाक चित्र?
किन कसैले सुटुक्क टिपेर ल्याउन खोज्दैछ
नारायणहिटीबाट पुरानै शासनको झोली?
गणतन्त्र किन यति फुच्चो हुँदैछ
यो सत्ताको बजारमा?