तिमीले भनेका थियौ
अब हामीले देश बनाउनु पर्छ
तन, मन, धन लगाएर
यो देशलाई स्वर्ग जस्तै बनाउनुपर्छ
सुतेकालाई उठाउनुपर्छ
नयाँ युगको बिहानी ल्याउनु पर्छ
सबै परदेशीलाई स्वदेश फर्काउँछु
अब सम्झनामा मुटु निचोरेर बाँच्नुपर्दैन
लालावाला खेलाउँदै आफ्नै आगनमा
बा, आमाको सुख दु:खमा साथ दिँदै
खुसीयाली जीवन बिताउनु पर्छ
भन्दै भाषण गर्यौ तिमीले
तर
फर्की आउ भनी खबर पठाएनौ
त्यसैले मौनतामा बाँधिएर
यसपालि पनि भिसा थप्दैछु
दस नङ्ग्रा खियाएर
दिनरात नभनी
बिरानो मुलुकमा रगत पसिना बगाएर
कति बाँच्न सकिन्छ र ?
अन्तिम सास स्वदेशमा नै जाओस्
एक थुप्रो माटो स्वदेशकै बढोस्
रहर र सपनाको भारी बोकेर
आउँछु भनेर विन्तिपत्र पठाएको थिएँ
अँह ! तिमीले न सुनेऊ न बुझेऊ
खबर पठाएनौ
सरकार ! घरदेशको खबर के छ ?
परदेशमा म भिसा थप्दैछु
मैले सोचेको थिएँ
गाउँ रित्तियो समाज बसालौं
पाखा, पखेरा, वनमाराले खायौ
सारा फाँडेर परिश्रमको फूल फुलाउँ
मर्दा, पर्दाको दाजुभाइ जम्मा भई
कर्मठ पाखुरा लगाएर
उन्नति, सुखशान्तिको फूल फुलाउँ
केही खबर त पठाउ सरकार ।
गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र
सबैमा हार्दिक नमन गर्दै
देवता मानेर जपध्यान पूजा गरेँ
तन, मनमा मन्त्र पढ्दै हिँडे
मैले अर्थ बुझ्न सकिनँ कि ?
बुझ्न सक्ने ज्ञान भएन
त्यसैले सरकार ! देश पढ्न आउँछु भने
खबर पठाएनौ ।
सरकार ! यसपालि पनि भिसा थप्दैछु ।