उपन्यासकार हरि कटुवालको ‘रेडलाइट’ उपन्यास सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राज्ञ एवं उपन्यासकार माया ठकुरी, निबन्धकार युवराज नयाँघरे तथा लेखक हरि कटुवालले उपन्यास संयुक्त रुपमा सार्वजनिक गरे।
उपन्यासको समीक्षा गर्दै निबन्धकार नयाँघरेले सहरी यौन समस्याको व्यवस्थापनमा उपन्यासले आवाज उठाएको धारणा राखे। यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले उपन्यासको शीर्षक तथा विषयवस्तुबाट नयाँ पुस्ता आकर्षित हुने विचार राखे।
प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले उपन्यासले समाजमा दबिएर रहेको यौन र यसभित्र रहेको चरित्रलाई उजागर गर्दै साहसी विषय उठान गरेकोमा बधाई दिइन्। ‘जीवनको यथार्थलाई उजागर गर्न सक्ने लेखक नै समाजप्रति उत्तरदायी हुन्छ’, उनले भनिन्।
राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ। कटुवालको यसअघि पहिलो उपन्यास ‘अधुरो सपना’ प्रकाशित भइसकेको छ।