झुमेर आयो फनन दसैं रोटेपिङ लिएर
लिङ्गाको पिङ मचाइ आफैं उमंग पिएर
स्वादिलो कति यो चाड भित्र चित्र छ विचित्र
नेपाली सारा आफन्त हुने साँच्चै छ पवित्र।।
बाटेर प्रेम युगल जोडी चाडमा झुलिन्छन्
दुर्गाको ज्योति छरेर मोती घर्घर गुञ्जिन्छन्
रावण राम जीतमा दुवै उल्लास सुम्पिन्छन्
आदर्श खेती रोपेर यहाँ नेपाली झुम्मिन्छन्।।
मालिङ्गो काटी बाबियो बाटी हालेको पिङमा
छिटको साडी ढाकाको टोपी नेपाली दिलमा
रमेर नाचे कम्मर भाँचे शीरमा जमरा
संसारभरि सन्देश छर्ने दसैंमा भमरा।।
चटारो पर्यो आमा के सार्हो धान्नलाई दसैं
हे माता दुर्गे मुश्किल टार नसार बसाइँ
दुरुस्त पार महँगी झार कोही नहुन् कसाइ
चाडका नाममा यी भक्तलाई नहोस् डसाइ।।
तराई मस्तै पहाड उस्तै जुरुक्क उठेको
हिमाल झन् लगाइ कुर्रा दसैंमा जुटेको
जोडिन्छ मन भावनासँग पुकार दुर्गेको
सभ्यता हाम्रो चुम्दछ राम्रो हल्हली हुर्केको ।।
रावण राम युद्धमा भिडे आदर्श फैलियो
दीर्घायु फुल्यो संस्कृति झुल्यो न त यो मैलियो
मौरी झै डुली महक हुली चाड यो रसिलो
दसैंमा काली भक्त सम्हाली नेपालै हँसिलो।।
बुर्कुसी मार्दै आँगनभरि दशरा उफ्रियो
उमंग भिर्दै अँध्यारो चिर्दै भक्तिमा हुर्कियो
कष्टादी जति खनिए पनि खुसीले यो चाड
हर्षका वर्षा बग्रेल्ती फल्ने तराई पहाड ।।
उफ्रिन्छ माटो छेकिन्न बाटो जति नै टाढा होस्
मनले गोड्छ घरमा जोड्छ चाडको हुन्छ जोस्
आमाको माया बाबाको छाया पाउन दौडेर
रसका कुरा गर्नुछ पूरा आए है पौडेर।।
आशिष थापी हुर्किन्छ मन त्यही नै हो धन
निर्धनी धनी यसैले हुने दसैंमा यो मन
हे दुर्गे माता हाम्री विधाता भनेर पुजन
पर्दछन् सारा शरण तिम्रो नेपाली सज्जन ।।