कविता
धर्ती एउटै हो हाम्रो
धरातल छन् अनेक यहाँ।
भगवान् एउटै हो सबको
धर्म संस्कृति छन् अनेक यहाँ।।
पुर्खा एउटै हो हाम्रो
जात छन् अनेक यहाँ।
माने एउटै हो सबको
भाषा छन् अनेक यहाँ।।
जात एउटै हौं मानव हामी
रीतिरिवाज छन् अनेक यहाँ ।
स्वरूप एउटै छ हाम्रो
वर्ण छन् अनेक यहाँ।।
भोक एउटै हो सबको
भोजन छन् अनेक यहाँ।
मन एउटै हो सबको
आकांक्षाहरू छन् अनेक यहाँ।।
जीवन एउटै हो सबको
जीवनशैली छन् अनेक यहाँ।
हृदय एउटै हो सबको
व्यवहार छन् अनेक यहाँ।।
जीवन एक धावक हो हाम्रो
बाटो छन् अनेक यहाँ।
गन्तव्य एउटै हो सबको
रफ्तार छन् अनेक यहाँ।।
सत्य एउटै हुन्छ
झूट छन् अनेक यहाँ।
सत्यलाई लत्याइ
झूट अंगाल्ने छन् अनेक यहाँ।।
काल एउटै हो सबको
दिन र समय छन् अनेक यहाँ।
जाने ठाउँ एउटै हो सबको
बहाना र स्थान छन् अनेक यहाँ
रचना :-ज्ञान बहादुर लामा