राती हुचिलले तर्साउँछ, दिनमा मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
उहिले उहिले खट–प्वाँलमा गुड लाउँथ्यौं हामी
अचेल प्वालै नहुने घर बनाए मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
उहिलेका बच्चाहरू लुकेर गुलेली बोक्थे
लाजै नमानी बन्दुक बोक्छन् अचेल मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
के गर्नु हजुर यो कलिमा कनिका पाइनै छाड्यो
आँगन भए छर्थे कनिका बरा मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
अब त धान खान पनि देश चहार्नु पर्छ
कठै! घर रोपेका खेतमा गरिब मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
राती हुचिलले तर्साउँछ, दिनमा मान्छेहरूले
यो कस्तो रूप धरे अचेल मान्छेहरूले
(टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन सञ्चालित ‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत शनिबार भएको साहित्यिक जमघटमा कवि विप्लव प्रतीकले खुला ठाउँकाे महत्व बताउने कविता सुनाए। कार्यक्रममा तीन दर्जन कविको उपस्थिति थियो जसले खुला ठाउँको महत्वबारे कविता बाचन गरेका थिए।)