संवैधानिक परिषद् बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले सो सिफारिस गरेको हो।
बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ। त्यस्तै, समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित थिए।
सिफारिस भएका अध्यक्षहरूको संसदीय सुनुवाइ हुनेछ। समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन्।
आयोगका अन्य सदस्यहरू भने नियुक्त गर्न बाँकी रहेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री स्वीट्जरल्याण्ड भ्रमण जानुअघि बसेको परिषद् बैठकले सो सिफारिस गरेको हो। प्रधानमन्त्री केहीबेरमै विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन्।