काठमाडौं महानगरपालिकाले पार्क निर्माण गर्न काठमाडौं जिल्लाका नौ नगरपालिकालाई एक/एक करोड रुपैयाँ दिएको छ।
राजधानीमा आइतबार भएको एक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरका प्रमुखलाई रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरभित्रै समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम हस्तान्तरण गरेको बताए।
‘हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवर्द्धनको काम गर्दै आएको छौं। सोही अनुसार यो रकम नरपालिकाहरूलाई लिएका हौं। हामीले ठूलो सानो नभनी सबै नगरपालिकालाई बराबर रकम दिएका हौं। कसैलाई पुग्ला कसैलाई नपुग्ला भोलिको दिनमा समिक्षा गरेर अगाडि बढ्ने छौं,’ मेयर शाक्यले भने, ‘नेपालमा आन्तरिक पर्यटकको संख्या बढेको छ। उपत्यकाका विभिन्न ठाउँबाट ती ठाउँ हेर्न आउने छन्। यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्नेछ।’
महानगरले दिएको यो पैसाले कीर्तिपुर नगरपालिकाले युद्धस्मारक पार्क, शंखरापुरले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनहराले कागेश्वरी धाम तथा पार्क, गोकर्णेश्वरले राष्ट्रिय शहीद तथा शान्ति पार्क, बूढानिलकण्ठले बूढानिलकण्ठ पार्क, तारकेश्वरले तारकेश्वर धाम, नागार्जुनले गणेशमान स्मृति पार्क, चन्द्रागिरीले कंकालीमा ऐतिहासिक रमणीय उद्यान र दक्षिणकाली नगरपालिकाले गोरखनाथ मन्दिर वरपरको क्षेत्रलाई पार्क बनाउने भएको छ।
यसअघि टोखा नगरपालिकालाई महानगरले एक करोड प्रदान गरिसकेको छ।
यो रकम प्रत्येक नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसकेमा व्याजसहित फिर्ता गर्नुपर्ने महानगरले जनाएको छ।