पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश-३का एकमात्र प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्।
गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए।
फागुन १३ गते रसुवामा कार्यक्रम गरेर नयाँ शक्तिका सांसद तमाङ कांग्रेस प्रवेश गर्न लागेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा तमाङलाई पार्टी प्रवेश गराउन रसुवा पुग्दैछन्।
'फागुन १३ गते प्रदेश सांसद प्रेम तमाङलाई हामी पार्टी प्रवेश गराउँदै छौं,' कांग्रेस सांसद गगन थापाले सेतोपाटीसँग भने।
नयाँ शक्ति छाड्न लाग्नुको कारण बुझ्न टेलिफोन सम्पर्क गर्दा तमाङ उपलब्ध भएनन्।