अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान थालेको छ।
पाठकमाथि अनुसन्धानका लागि मंगलबार विषेश अनुसन्धान समिति गठन गरी अख्तियारले अनुसन्धान थालेको हो।
७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिएका थिए।
पाठकमाथि अनुसन्धानका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय विशेष अनुसन्धान समिति गठन गरिएको प्रवक्ता रामेश्वर दंगालले बताए। ‘सहसचिव नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ, अहिले सार्वजनिक भएको ७८ लाख घुस प्रकरणबाट उहाँमाथि अनुसन्धान सुरू भएको छ,’ दंगालले सेतोपाटीसँग भने, ‘समितिले अनुसन्धानमा जे–जे भेट्छ त्यसैलाई आधार बनाएर बाँकी कारबाही अघि बढ्छ।’
अख्तियारकै आयुक्तले घुस लिएको भिडियो सार्वजनिक भएपछि आयोगको ध्यानकर्षण भएको दंगालले बताए।
पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएको भिडियो फागुन १ गते सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि उनले फागुन ३ पदबाट राजीनामा दिएका थिए।