अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सुलह भएपछि नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको छ।
पूर्वएमालेको ओली र नेपाल पक्षबीचको गुटगत झगडाले तल्लो तहको सांगठनिक एकता हुन सकिरहेको थिएन। नेताहरूका अनुसार वैशाख ९ गतेअघि एकीकृत जिल्ला कमिटी घोषणा हुनेछ।
‘छलफल अगाडि बढेको छु,’ नेपालनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने, ‘जिम्मेवारी दिने व्यक्तिको नाम केन्द्रीत भएर छलफल अगाडि बढेको छ।’
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र नेपालबीच छलफल भएको थियो। नेपालनिकट स्थायी समिति सदस्य बेदुराम भुषालका अनुसार छलफल अगाडि बढ ेपनि सहमतिको स्थितिमा पुगेको छैन।
यसअघि एकताका लागि बरिष्ठताको मापदण्ड बनाउनु पर्ने अडान लिँदै आएको नेपाल समूह पछि हटेको छ। ओली पक्षले माओवादीसँग एकतापछि योग्यता र क्षमता भएको व्यक्तिलाई नेतृत्व दिनुपर्ने धारणा राख्दै आएको थियो। नेपाल समूह भने बरिष्ठताको अडानमा थियो। तर नेपाल समूह नेतृत्व पाउने नाममा छलफल गर्न तयार भएको हो।
नेकपाभित्र पूर्वएमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व गर्ने सहमति भैसकेको छ। जिल्ला नेतृत्व पूर्वएमालेले पाए सचिव पूर्व माओवादीतर्फले पाउनेछ। त्यस्तै पूर्व माओवादीले नेतृत्व पाएको ठाउँमा सचिव पूर्व एमालेको हुनेछ।
नेपाल पक्षले यसअघि जिल्ला अध्यक्ष जितेकाहरूलाई नै नेतृत्व दिनु पर्ने अडान राखेको थियो। पार्टी एकताको चरणमा रहेकाले कायम रहेका अध्यक्षलाई हटाएर नयाँ ल्याउन नमिल्ने नेपाल पक्षको तर्क थियो। धारणा अध्यक्ष ओलीनिकट स्थायी समिति सदस्य सुवास नेम्वाङले ९ गते एकता टुङ्ग्याउने गरी छलफल भैरहेको बताए।
अप्रिल २२ मा भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो। यस वर्ष वैशाख ९ गते अप्रिल २२ परेको छ। अध्यक्षद्वय ओली र प्रचण्डले अप्रिल २२ अघि तल्लो तहको सांगठनिक एकता टुङ्गोमा पु¥याउने बताउँदै आएका छन्।
अध्यक्षद्वय ओली र प्रचण्डले एकताको छलफल घनिभूत बनाउँदै लगेका छन्। बिहीबार उनीहरूले चन्द्रागिरी पुगेर छलफल गरेका थिए।