प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको बुधबार संसदीय सुनुवाइ भएको छ। सिंहदरबारमा भएको सुनुवाइको दृश्य भने अचम्मको थियो। सुनुवाइमा बसेका सांसदहरूले थपलियालाई प्रश्न सोधेर र्याखर्याक्ति पारिरहेका थिएनन्। बरू आपसमा सवालजवाफ गरिरहेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले थपलियालाई प्रश्न सोधेका थिए भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले त्यसको जवाफ दिएका थिए।
नेपाली कांग्रेसबाट प्रदेश ३ का सांसद नरोत्तम वैद्यले नेपाल सरकारको सचिवबाट प्रमुख आयुक्तमा सिफारिस भएका थपलिया नेकपानिकट भएको उजुरी समितिमा दिएका थिए।
सोही उजुरीका आधारमा कांग्रेस सांसदहरू पुष्पा भुषाल र भीमसेनदास प्रधानले थपलियालाई राजनीतिक निकटता भएको मानिसले निर्वाचन आयोगको संवेदनशील काम कसरी गर्न सक्छ? भनेर प्रश्न गरेका थिए।
‘निर्वाचन आयोगको भूमिका संवेदनशील छ, तपाईंविरूद्ध अमुक विचारधाराबाट प्रभावित भएको उजुरी परेको छ,’ सांसद भुषालले सोधेकी थिइन्,‘अमुक पार्टीको व्यक्तिसँग घनिष्ठ भएको तपाईं नेतृत्वको आयोगले कसरी विश्वसनीय काम गर्न सक्छ?’
थपलियाले यो प्रश्नको जवाफ दिनुपहिले सत्तारूढ नेकपाका सांसदहरूले बोले। उनीहरूले थपलियालाई प्रश्न सोधेनन्। बरू कांग्रेस सांसदका प्रश्नको कुनै अर्थ नहुने बताए।
‘कुनै राजनीतिक नियुक्त हुने स्थान कसैको पेवा हो?,’ नेकपा सांसद योगेश भट्टराईले भने,‘हिजो नेविसंघको केन्द्रीय उपाध्य भएका मानिस प्रधानन्यायाधीश हुनुभयो। अहिले लोकसेवा आयोगको प्रमुख कुन आस्थासँग नजिक हुनुहुन्छ भन्ने सबैलाई थाहा छ। तर कसैले पनि उहाँहरूले गरेका काममा प्रश्न उठाउनु भएन।’
उनले भोजराज पोखरेल प्रमुख आयुक्त हुँदा भएको निर्वाचनमा पनि कसैले प्रश्न नगरेको उदाहरण दिँदै थपलियाका बारे मात्र यस्ता प्रश्न गर्दा तिनै प्रश्नले भोलि गिज्याउने तर्क गरे।
नेकपाका अर्का सांसद पार्वत गुरूङले कांग्रेस सांसदका ती प्रश्न भविष्यमा हुने चुनावमा व्यहोर्नु पर्ने हार अस्वीकार गर्नका लागि अहिलेदेखिको तयारीको रूपमा त होइन भनेर व्यंग गरे।
सांसदहरूबीच यो सवालजवाफपछि जवाफ दिएका थपलियाले कांग्रेस सांसदले सोधेका प्रश्नको उत्तर नेकपा सांसदले दिइसकेको बताए।
‘कतिपय प्रश्नको जवाफ माननीय योगेश भट्टराईले दिइसक्नुभएको छ,’ थपलियाले भने,‘मैले विद्यार्थी राजनीति पनि गरेको छैन। कुनै दलको सदस्यता लिएको छैन। उजुरीकर्ताले भनेजस्तो मैले सदस्यता लिएको मलाई थाहा छैन। यदि त्यस्तो हो खोज्नुपर्छ।’