भारतमा लोकसभा चुनावका लागि आज मतदान सकिएको छ। सातौं चरणको मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यमले गरेका एक्जिट पोलका नतिजाहरू आइतबार साँझ सार्वजनिक भएका छन्।
ती एक्जिट पोलहरूले सत्तारूढ भारतीय जनता पार्टीको गठबन्धनले बहुमत ल्याउने देखाएका छन्। भारतमा लोकसभामा ५४२ सिट छन्। सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। देशव्यापी रूपमा गरिएका सर्वेक्षणले भाजपाको गठबन्धनले फेरि सरकार बनाउने देखाएका हुन्।
इन्डिया टुडेले गरेको एक्जिट पोलमा छ महिनाअघि विधान सभा चुनावमा कांग्रेसले जित हात पारेका राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपा अघि आउने देखाएको छ।
न्युज १८ ले गरेको सर्वेक्षणले सबैभन्दा बढी सिट भएको उत्तर प्रदेशमा यसपालि पनि पहिलाजस्तै भाजपा गठबन्धनले सिट ल्याउने देखाएको छ।
अर्को सञ्चारमाध्यम रिपब्लिकले गरेको एक्जिट पोलले भाजपा गठबन्धनले २८७ सिट ल्याउने देखाएको छ भने कांग्रेसको गठबन्धन युपिएले १२८ सिट पाउने देखाएको छ। टाइम्स नाउले भाजपा गठबन्धनले ३०६ सिट जित्ने र कंग्रेस गठबन्धनले १३२ सिट ल्याउने देखाएको छ।
सात चरणमा भएको चुनावको आधिकारिक नतिजा आगामी बिहीबार सार्वजनिक हुनेछ।