नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियान सकेको सात दिनपछि नुवाकोटमा आयोजित एक सभामा गुटगत झगडा छताछुल्ल भएको छ।
जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले पार्टी नेता अर्जुननरसिंह केसी र रामशरण महतलाई ल्याउन नसकेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए।
त्यसपछि कार्यक्रम अवधिभर बोलेका नेताहरूले आफ्नो गुटको रक्षा गर्दै भाषण गरे।
सभापति देउवासहित कार्यक्रममा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री प्रकाशशरण महत पनि उपस्थित थिए।
कार्यक्रममा केसीले सभापति देउवाले गुटलाई प्रश्रय दिएको पनि आरोप लगाए।
‘तपाईंले दुइटै हितैषी नेता अर्जुननरसिंह केसी र रामशरण महतलाई कार्यक्रममा ल्याउनुपर्थ्यो। निम्तो पठाएको चिठी पाउनासाथ तपाईंले ३२ गते दुवै नेतालाई नुवाकोट जानुपर्छ भन्नुपर्थो। किन भन्नुभएन?’
केसीले एकै मञ्चमा रहेका देउवालाई सबभन्दा पहिला पार्टीलाई एक बनाएर लैजानुपर्नेमा जोड दिए।
‘सबभन्दा पहिला तपाईंले पार्टीलाई एक बनाएर लैजानुपर्छ। दुवै हितैषीलाई ल्याइदिएको भए कार्यक्रम सुनमा सुगन्ध हुन्थ्यो।’
उनले कार्यकर्तालाई जागरण आवश्यक नरहेको बताए।
‘यहाँ हामीलाई जागरित बनाउनुपर्दैन भन्ने कार्यकर्ताको भनाइ छ। जब केन्द्रमा हिलो पानी बगिराखेको छ भने घरको पनि हिलो पानी नै आउँछ। केन्द्रमा नै पानी सफा बनाउनुपर्यो,’ उनले भने।
उनले १३ औं महाधिवेशन सकेको एक महिनापछि क्रियाशील सदस्यता बाँड्ने भने पनि अहिलेसम्म वितरण हुन नसकेकोमा सभापति देउवाको ध्यानकर्षण गराएका थिए।
उनले केन्द्रमा गुट राखे पनि जिल्लामा गुटगत राजनीति बन्द गर्नुपर्ने बताए।
‘केन्द्रमा गुट बनाउने हो भने बनाउनुहोस् तर यहाँ आएर गुट उपगुट गर्ने होइन,’ उनले भने, ‘नुवाकोटमा कोही कांग्रेसी कसैको गुटमा छैन। सबै कांग्रेस हो।’
केसी र महत देउवाइतरका हुन्।
उनले पार्टीभित्रको गुट अन्त्य गर्ने जिम्मेवारी उपसभापति गच्छदारलाई लिन पनि आग्रह गरे।
कार्यक्रममा बोलेका सहमहामन्त्री प्रकाशशरण महतले सभापति देउवाको बचाउ गर्दै जिल्ला सभापति केसीको प्रश्नको जवाफ दिएका थिए।
‘पार्टी सभापति सबैलाई मिलाएर जान चाहनुहुन्छ। मुहानमाथि धमिलो त छ तर कसले धमिलो पारेको त बुझ्नुपर्यो नि!,’ उनले भने।
उनले सभापति देउवाले सबैलाई मिलाएर लैजान खोज्दा विभाग गठन र तरुण तथा नेविसंघलाई पूर्णता दिन ढिलाइ भएको बताए।
उनले अर्जुननरसिंह केसीप्रति लक्षित गर्दै भने, ‘यहाँको नेतालाई सभापतिले महामन्त्रीमा लडाउनुभयो। मन्त्री बनाउनुभो। देउवा नभएको भए सायद उहाँ मन्त्री हुनुहुन्थेन,’ उनले भने।
अन्तिममा बोलेका सभापति देउवाले केसीले उठाएका प्रश्नको जवाफ त दिएनन्।
यति मात्रै भने, ‘मिलाएर उठाउन नसक्दा यहाँ चुनाव हारिएको हो।’
केसी र महतले भने आफूहरु अन्य कार्यक्रममा व्यस्त भएकोले नुवाकोट जान नपाएको दाबी गरेका छन्।