प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७का लागि कूल ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले कृषि आधुनिकीकरणलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरे।
जसअन्तर्गत चालु खर्चतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार अर्थात ४९. ८१ प्रतिशत र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार अर्थात ५०. १९ प्रतिशत छुट्याइएको छ।
प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ। कक्षा १ देखि ८ सम्मका दलित छात्राका लागि ५ सय रुपैयाँको दरले छात्रबृत्ति उपलब्ध गराउन ४८ करोड बजेट छुट्याइएको छ।
मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत धार्मिक सम्पदा संरक्षण, जलाशय संरक्षणका लागि ३१ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । कृषिमा आधुनिकीकरण ल्याउन प्रत्येक पालिकामा एउटा ‘कस्टम हेयरिङ सेन्टर’ निर्माण गरिने भएको छ। जसका लागि २० करोड रुपैयाँ छुट्याइएको छ।
प्रदेश नम्बर २ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ ।