सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समीकरण बदल्ने खेल भइरहेको बताएका छन्।
विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला गुरुङले सरकारको समीकरण फेरबदलको खेल भइरहेको बताएका हुन्।
प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै उनले नेताहरूको कमी-कमजोरीबाट बाह्य शक्तिहरूले नाजायज फाइदा उठाइरहेको र तिनै शक्तिबाट केन्द्रसँगको मिलेमतोमा सरकारको समीकरण फेरबदलको तयारी भइरहेको दाबी गरे।
'विदेशी शक्ति शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ। यहाँका कतिपय दलका नेताहरू यही मुद्दा लिएर समीकरणमा खेल्न सकिन्छ कि, सरकार फेर्न सकिन्छ कि भन्ने संकीर्ण सोचबाट पनि हेरिरहेका छन्। कतिपयले यही मुद्दालाई उठाएर पेलेको पेल्यै गरेर आफू सधैं सत्तारुढ बन्न पाइन्छ कि भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन्। कतिपयले यही मुद्दालाई केन्द्रविन्दु बनाएर समीकरण फेर्ने, टुटाउने, फुटाउने ढंगले जान सकिन्छ कि भन्ने संकीर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ,' उनले भने।
पश्चिमा शक्तिले फेरि पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्दालाई हतियारका रूपमा प्रयोग गर्न खोजिरहेको भन्दै गुरुङले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए।
हालै संयुक्त राष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्तिकेन्द्रहरूले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको उनले बताए। राष्ट्रसंघ नेपाल पक्षधर हुँदा हुँदै कूटनीतिक मर्यादा उल्लंघन गरेर नौवटा मुलुकसँग मिलेर वक्तव्य निकाल्दै शान्ति प्रक्रियालाई अवरोध खडा गरेको उनको भनाइ थियो।