पार्टीबाट निलम्बनमा परेका समाजवादीका सांसद प्रदीप यादवले आफूमाथि कारबाही हुनु दुःखद रहेको बताएका छन्।
'पार्टीको निर्णयबाट म आश्चर्यचकित भएको छु।मेरो यसमा कुनै टिप्पणी छैन। पार्टीको एउटा सच्चा सिपाही भएकाले यसलाई सहर्ष स्वीकार्छु,' यादवले सेतोपाटीसँग भने,'पार्टी टुटफुट भएको बेलामा पनि म निरन्तर काम गरेको व्यक्ति हो। मेरो कारबाहीमा पुनर्विचार हुने अपेक्षा गरेको छु।'
समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
लाटभीयाको राजधानी रिगामा भएको 'इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत'को कार्यक्रममा सहभागी भएको आरोपमा सांसद यादव निलम्बन भएका हुन्।
सो कार्यक्रममा आफू भूलवश पुगेको यादवले सेतोपाटीलाई बताए।
'मैले गल्ती गरेकै हो तर मेरो यसमा केही दोष छैन। किनकी मलाई यसबारेमा कुनै जानकारी थिएन',यादवले भने,'काम गर्ने सिलसिलामा यस्तो गल्ती हुँदो रहेछ।'
पार्टीलाई स्थानीय निर्वाचन,प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पर्सामा पहिलो बनाएकाले यसको मूल्यांकन हुने उनले आशा व्यक्त गरे।
यादव पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन । पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवसँग मंगलबार बिहान २ घण्टासँगै रहे पनि कुनै जानकारी नपाएको उनले बताए ।
'बिहान ८ बजेदेखि १० बजेसम्म अध्यक्षकै चेम्बरमा थिएँ। उहाँले केही भन्नुभएन', उनले भने,'साँझ पाँच बजे वीरगञ्ज आउने क्रममा मात्रै मैले यस विषयमा थाहा पाएको हो।'
वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागी भएका थिए।
सहभागी हुनेमा समाजवादी पार्टी नेपालका प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ हुन्।