प्रदेश २ सरकारले छात्राका लागि नि:शुल्क लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ।
जनकपुरधामस्थित राजर्षी जनक क्याम्पसमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगको तयारी कक्षाको उद्घाटन गरेका हुन्।
प्रदेश सरकारले यो योजना मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत कार्यान्वयनमा ल्याएको हो।
छात्रालाई पनि सरकारी सेवामा प्रवेश गराउनका लागि सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँदै मुख्यमन्त्री राउतले समतामूलक समाज निर्माणका लागि छोरीहरूलाई पनि समान अवसर दिनु आवश्यक रहेको बताए।
महिला र पुरुषबीच विभेद रहेको समाज कहिल्यै विकास गर्न नसक्ने भएकोले प्रदेश विकासका लागि प्रदेश सरकारले छोरीहरूलाई उच्च शिक्षामा समान अवसर दिने नीति लिएर अगाडि बढिरहेको मुख्यमन्त्री राउतले जानकारी दिए।
उनले प्रदेश २ शिक्षा, स्वास्थ्य, गरिबी, भौतिक पूर्वाधार सबै क्षेत्रमा पिछडिएको प्रदेश रहेको बताउँदै यसको मुख्य कारक नै महिला-पुरुषबीचको विभेद रहेको बताए।
प्रदेश सरकारले लागू गरेको लोक सेवा आयोगको तयारी कक्षा राजर्षी जनक क्याम्पसमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। जसमा एक सयभन्दा बढी छात्रालाई सहभागिता गराइने छ।
१२ कक्षा पास गरेका छात्रा यस तयारी कक्षामा सहभागी हुन पाउनेछन्।