नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोजपुरमा प्रहरी जवान सञ्जीव राईमाथि योजनाबद्ध आक्रमण गरेको संकेत दिएको छ।
विप्लवले भोजपुरमा मारिएका तीर्थराज घिमिरेको हत्यामा संलग्न प्रहरी जवान सञ्जीव राईको ‘प्रतिरोध गरिएको’ र त्यसक्रममा आफ्ना कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको दाबी गरेको छ।
विप्लव पार्टीको सगरमाथा ब्युरोले बुधबार विज्ञप्ति जारी गरी जेठ ७ मा भोजपुर टेम्के मयुम गाउँपालिकामा ‘गिरफ्तार गरी मारिएका घिमिरेको हत्यामा संलग्न जवान सञ्जीवको हात रहेको’ भन्दै प्रतिरोध गर्ने क्रममा नीरकुमारको मृत्यु भएको दाबी गरेको हो।
बुधबार भोजपुर नगरपालिका-७ मा राईद्वयको पाँचधारे होटलमा भेट हुँदा भनाभन र विवाद हुँदै गोली हानाहान भएको थियो। पहिले नीरकुमारले सञ्जीवमाथि गोली चलाएका थिए र त्यसपछि आएको प्रहरी टोलीले नीरकुमारलाई गोली हानेको थियो।
षडानन्द गाउँपालिका १३ घर भएका नीरकुमार विप्लव पार्टीको ओखलढुंगा इञ्चार्ज थिए।
‘भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कंने क्रममा जम्काभेट हुँदा सञ्जीव राईको प्रतिरोध गर्ने क्रममा नीरकुमारको मृत्यु भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
नीरकुमारलाई शहीद घोषणा गरिएको जनाउँदै विज्ञप्तिमा ‘सो घटनाले दलाल पूँजीवादी सत्ताको अवसानलाई अझ नजिक बनाउने काम गरेको’ दाबी गरिएको छ।