प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीले राष्ट्रियसभामा छलफलका लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
बाढीपहिरो र डुबान पीडितका विषयमा छलफल गर्नका राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६६ बमोजिम अधिकारीले बुधबार वृषेशचन्द्र लाल र बद्री पाण्डेको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरेका हुन्।
अविरल वर्षापछि बाढीपहिरो र डुबान परेकोमा पीडितको उद्धार तथा राहतको कामकारबाहीको सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरिएको अधिकारीले उल्लेख गरेका छन्।
अविरल वर्षाबाट मुलुकभरि भएको धनजनको क्षति र त्यसबाट पीडित सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले छलफल गर्नुपरेको अधिकारीले दर्ता गरेको प्रस्ताव पत्रमा भनिएको छ।
बाढीपहिरो र डुबानले जनधनको क्षति भएको भन्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए पनि साउन ७ सम्म बैठक स्थगित गरिएको थियो।