पूर्वी युरोपियन मुलुक युक्रेनको दक्षिणतिर ब्ल्याक सी छ। उत्तर र पूर्वमा रूस पर्छ। तीन दशकअघि सन् १९९१मा युक्रेन सोभियत संघबाट स्वतन्त्र त भयो तर सीमा जोडिएको रूसले बेलाबेलामा दु:ख दिइरह्यो।
पाँच वर्षअघि रूसले सेना पठाएर युक्रेनको क्राइमिया हडप्यो। युक्रेन स्वतन्त्र देश थियो तर किएभको राजनीतिमा मस्को हावी हुन्थ्यो। २८ वर्षसमम्म मिश्रित निर्वाचन प्रणाली भएको युक्रेनको संसद (भर्खोभ्ना राडा)मा कुनै पनि दलले एक्लै बहुमत ल्याउन सकेनन्।
गत अप्रिलदेखि भने युक्रेनको राजनीतिमा उथलपुथल भएको छ।
तीन महिनाअघि हास्यकलाकार भोलोदमिर जेलेन्स्की भारी मत पाएर राष्ट्रपति चुनिए। केहीअघिसम्म टेलिभिजन कार्यक्रममा शिक्षकबाट अचानक राष्ट्रपति बनेको पात्रको भूमिका निर्वाह गरिरहेका उनी साँच्चै राष्ट्रपति बने।
४१ वर्षीय जेलेन्स्कीले चुनावी अभियानमा युक्रेनको कुलिनतन्त्रविरूद्ध नारा दिएका थिए। नागरिकले उनलाई संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याए।
उनका आलोचकले उनीसँग राजकाज चलाउने अनुभव नभएको भन्दै उनको क्षमतामाथि प्रश्न गरेका थिए।
पाँच वर्षअघि रूसविरोधी नारा दिएर राष्ट्रपति जितेका पेट्रो पोरोसेन्कोले भनेका थिए- अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।
जेलेन्स्की रूसको कक्षमा परेनन्। बरू उनले सुधारका प्रयासहरू गरे।
सपथ लिँदा नै उनले सरकारी कार्यालयका भित्ताहरूमा आफ्नो फोटो नराख्न निर्देशन दिएका थिए। ‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु। राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो। त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्बिर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस्,’ उनले भनेका थिए।
जेलेन्स्कीका सुधारका कामलाई प्रतिपक्षीहरूको बाहुल्यता भएको संसदले अनुमोदन गर्नुपर्थ्यो। आफ्ना योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनलाई संसदको साथ चाहिन्थ्यो।
त्यही भएर उनले तीन महिनापछिका लागि तय भएको चुनावलाई अहिले नै गराइदिए।
जुलाई २१ मा भएको आमचुनावमा फेरि पनि जनताले जेलेन्स्कीलाई नै चुने।
४ सय ५० सदस्यीय संसदको ९३ प्रतिशत मतगणना हुँदा जेलेन्स्कीको पार्टी सर्भेन्ट अफ द पिपुल (जनताको सेवक)ले २ सय ४१ सिट जितिसकेको छ। बहुमतका लागि २ सय २६ सिट भए पुग्छ।
दोस्रो स्थानमा रहेको अपोजिसन प्लेटफर्मले ४२ सिटमात्र जितेको छ भने पोरोसेन्कोको पार्टी युरोपियन सोलिडारिटीले ४० सिट हात पारेको छ।
युक्रेनमा मिश्रित चुनाव प्रणाली छ। २ सय २५ सिटमा पार्टीले पाएको मतका आधारमा समानुपातिक सांसद चुनिन्छन् भने २ सय २५ जना सांसद प्रत्यक्ष निर्वाचित हुन्छन्। सन् २०१४ पछि रूसमा क्राइमिया गाभिएपछि भने १ सय ९९ निर्वाचन क्षेत्रमात्र छन्।
समानुपातिकतर्फ पार्टीले संसदमा सिट पाउन पाँच प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्छ।
४४ वर्षीय रक स्टार स्भियातोस्लाभ भाकार्चुकलको भ्वाइस पार्टीले पनि त्यो थ्रेसहोल्ड कटाएर संसदमा प्रतिनिधित्व सुरक्षित गरेको छ।
भाकार्चुकलले दुई महिनाअघिमात्र पार्टी खोलेका थिए। युक्रेनको कुलीनतन्त्रविरोधी मुद्दा उठाएर उनले संसदीय चुनावका लागि प्रचार प्रसार गरेका थिए।
नयाँ सरकार गठनमा जेलेन्स्कीले भाकार्चुकलसँग सहकार्य गर्ने संकेत देखाएका छन्।
जेलेन्स्कीको पार्टीका लगभग सबै सांसद पहिलो पटक चुनिएका हुन्। उनले अधिकारकर्मी, उद्यमी, वकिललगायतलाई उम्मेदवार बनाएका थिए।
चुनावी नतिजा आफ्नो पक्षमा आउन थालेपछि पार्टी मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले अर्थतन्त्र बुझेको नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउने र क्राइमिया युद्ध अन्त्य गर्ने बताएका छन्।
‘हरेक युक्रेनीलाई म फेरि पनि दोहोर्याउँछु, हाम्रो मुख्य प्राथमिकता युद्ध अन्त्य गर्ने हो। हाम्रा कैदी फिर्ता ल्याउने हो। अनि युक्रेनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने हो,’ जेलेन्स्कीले भनेका छन्।
पार्टी खोलेको दुई वर्षमा लगालग चुनाव जितेर जेलेन्स्कीले चमत्कार गरेका छन्। अब उनी युक्रेनका शक्तिशाली नेता बनेका छन्। योसँगै उनीमाथि चुनौती पनि थपिएको छ। किनकी उनी यति शक्तिशाली बनेका छन् अब वाचाअनुसार काम गर्न सकेनन् भने त्यसका दोषी उनी स्वंयबाहेक कोही हुने छैन। (एजेन्सीहरूको सहयोगमा)