नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश नम्बर २ को बाढी प्रभावित क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
रौतहट र सर्लाहीमा सोमबार र मंगलबार सञ्चालन भएको शिविरबाट एक हजार जनाभन्दा बढी बाढी प्रभावितले सेवा लिएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकको टोलीले बाढी प्रभावितको स्वास्थ्य परीक्षण गरेका हुन्।
शिविरका आयोजक नेविसंघका नेता दीपक भट्टराईका अनुसार रौतहटको गढीमाइ नगरपालिका -३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर बस्ती डुबान परेको क्षेत्र र सर्लाही धनकोल गाउँपालिका -३ मा स्वास्थ्य शिविर गरिएको हो।
शिविरमा आएका अधिकांश बिरामी ज्वरो तथा झाडापखालाजस्ता समस्याबाट पीडित पाइएको छ।
दुषित पानीका कारण बाढी प्रभावित बिरामी छन्। नेविसंघले बीपी कोइरालाको ३७ औं स्मृति दिवस पारेर स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
‘पीडामा रहेको मधेशमा सानो मल्हम लगाउन खोजेका हौं,’ भट्टराईले भने, ‘दु:ख बाँड्न हामी मधेश झरेका छौं।’
सर्लाहीको हरकठवा स्वास्थ्य चौकीमा मंगलबार आयोजना गरिएको शिविरबाट पाँच सयभन्दा बढी बाढी प्रभावितले सेवा लिएका थिए।